Feb 19, 2015

मलाई शोषण गरे रेडियो मालिकले

diya-chandदिया चन्द - म सानैदेखि मिडियाप्रेमी । रेडियोमा अरूले समाचार पढिँरहदा र कार्यक्रमहरु प्रस्तुत गरिँरहदा मलाई निकै आनन्द लागिरहन्थ्यो । मनमनै सोच्ने गर्थेँ, मपनि एकदिन त्यो स्थानमा पुग्न पाए, त्यसैगरि रेडियोबाट बोल्न पाए । केही समय सोच्नमै बित्यो ।
मानिसका आ–आफ्नै रुचि र चाहना हुन्छन् । त्यस्तै मलाई पनि एउटा एक असल रेडियोकर्मी बन्ने चाहना वा रहन थियो । म त्यही रेडियोकर्मी बन्ने एक उपयुक्त अबसरको खोजीमा थिएँ । रेडियो पत्रकार बन्ने तीब्र चाहना केवल मनभित्र मात्रै सीमित थियो । म निरन्तर आफ्नो रेडियोकर्मी बन्ने चाहना पूरा गर्ने यात्रामा हिँडिरहेँ ।
कुरा आज भन्दा करिब ११ महिना अगाडिको हो । २०७१ माघ २१ गतेको दिन थियो, रेडियो नागरिक १०४ दशमलव ३ मेगाहर्जको तरंग मार्फत मेरो आवाज तरंगीत हुन पुग्यो । कुनै औपचारिक तालिम वा कोसिसबिना नै मैले रेडियोबाट बोलेको दिन मेरो आवाज रेडियोबाट तरङ्गीत हुन थाल्यो ।
बिनानियुक्ति मैले रेडियोमा काम सुरु गरेको त्यो दिनको सबै चित्र अहिले पनि मानसपटलमा ताजै छ । मनमा धेरै सपना बोकेर कामलाई निरन्तरता दिँदै गएँ । आफूलाई स्थापित गर्न प्रेरणा र अवसर सँगै चूनौतीहरु पनि थिए । म एउटा महिला पत्रकार, पत्रकारिता आफैमा एउटा चुनौतीपूर्ण पेशा हो । अझै त्यसमाथि सुदूरपश्चिमको सवालमा केहि थप चुनौती छन् ।
एकातिर सामाजिक बन्धन र अर्कोतिर श्रमको उचित मूल्याङ्कन हुन नसक्नु । मिडियाभित्र महिलालाई हेर्ने दृष्टिकोण र गर्ने खोजिने व्यवहार । बाहिर हेर्दा जति असल हुन्छ, भित्र त्यो भन्दा नितान्त फरक हुने रहेछ । त्यसैले होला, महिला पत्रकारहरु यो पत्रकाररिता पेशामा दीर्घकालीन रुपमा निर्धक्क भएर लागिरहन सक्दैनन् ।
मेरो बुझाइमा रेडियो गाउँबस्ती, समाज, कुनाकन्दराका आवाज विहीनहरुका आवाजहरुलाई बोल्ने माध्यम हो । तर, पछिल्लो समयमा रेडियो व्यापारीकरण हुँदै गएको छ । शोषित, पीडित, निमुखा र उत्पीडनमा परेका सबैखाले उत्पीडित आवाजहरुलाई आम जनतामाझ जस्ताको तस्तै प्रसारण गर्ने सञ्चारमा माध्यम (रेडियो) आज पैसा कमाउने भाँडोको रुपमा मात्र प्रयोग भएको त छैन ? प्रश्न उब्जिएको छ ।
रेडियोकर्मीको पेट र स्रोताको चाहनासँग यी दुवैको कुनै सरोकार हुँदैन । कसैसँग मागेरै भएपनि सेवामा हाजिर भइरहनुपर्ने अवस्था छ । त्यस्तै जनता वा स्रोताले मालिक र पार्टी वा नेतालाई मन नपराएपनि उनीहरुको कुरा सुनिरहनुपर्ने ।
अहिले झट्ट हेर्दा रेडियो दुई प्रयोजनको लागि खोलिएका देखिन्छन् । पहिलो, राजनीतिक पार्टीले आफ्नो विचारलाई जनतामाझ लैजान । अर्को, नितान्त पैसा कमाउन । पार्टीको प्रयोजनको लागि रेडियो सञ्चालन गर्ने पनि प्रतिस्पर्धा नै चलेको छ ।
मोफसलको शहरमा दर्जनौ रेडियोहरु भकाभक सञ्चालनमा आएका छन् । प्रायः धेरै राजनीतिक पार्टीको अगुवाइमा नै हुने गरेको देखिन्छ ।
कुनै राजनीति पार्टी वा नेताको प्रत्यक्ष लगानी गरेका छन् भने कसैले घुमाउरो पारामा आफ्नो लगानी गरेका छन् । त्यस्ता रेडियोको काम भनेको पार्टी वा उक्त पार्टीका नेताहरुले गरेको नराम्रा कामलाई लुकाउने र गुलिया लड्डु जनतालाई बाँड्ने ।
दोस्रो, नितान्त नाफाको लागि खोलिएका रेडियोलाई कमाउ धन्दामा प्रयोग गरिएको छ । मालिकको व्यवसायमा कुनै अवरोध हुन नदिने यस्ता रेडियोको पहिलो काम हुन्छ । मालिकको कमाउ धन्दाको बचाउ गर्नु उसको पहिलो कर्तव्य हो । मालिकको सेवा पहिलो शर्त त्यसपछिमात्र रेडियोकर्मी र श्रोताको ।
कर्मचारीहरुले भोकभोकै मालिकका पक्षमा स्वर सुकाएर बोल्नु उनीहरुको दैनिकी बनेको हुन्छ । रेडियोकर्मीको पेट र स्रोताको चाहनासँग यी दुवैको कुनै सरोकार हुँदैन । कसैसँग मागरै भएपनि सेवामा हाजिर भइरहनु पर्ने अवस्था छ ।
त्यस्तै जनता वा स्रोताले मालिक र पार्टी वा नेतालाई मन नपाराएपनि उनीहरुको कुरा सुनिरहनुपर्ने उनीहरुको बाध्यता छ । अवस्था यस्तो छ । अब तपाईहरु आफै भन्नुहोस् यहाँ के भइरहेको छ ? यो मेरो छोटै समय भएपनि अनुभूति । यस्तो अवस्था निरन्तर अगाडि बढिरह्यो भने रेडियोले प्राप्त गरेको लोकप्रियता समाप्त हुनेछ ।
रेडियो पत्रकारिता गर्ने मेरो व्यक्तिगत सपना वा चाहना त पूरा भएको छ । तर आज मैले एउटा कुरा लेख्ने, बोल्ने र भन्ने हिक्मत गर्नैपर्छ । बिनानियुक्ति र बिना पारिश्रमिक नौ महिना इमान्दारीताका साथ रेडियो नागरिकमा काम गरियो । हरेक कुराको एउटा निश्चित सीमा हुन्छ । उक्त सीमालाई कसैले पार नगर्नु बुद्धिमानी हुन्छ । क्षेत्र चाहे जुनसुकै होस् ।
अझै सिधा भाषामा भन्नुपर्दा रेडियो नागरिकले मेरो श्रमकोशोषण गरेको छ । मैले घाम–पानी र भोक–तिर्खा नभनी दिन रात रेडियोको लागि गरेको परिश्रम र मेहनतको मूल्य खोज्दै भौँतारिनु परिरहेको छ ।
मलाई रेडियोमा काम गर्ने अवसर प्रदान गरिएकोमा रेडियो नागरिकप्रति सदैव सम्मान रहनेछ तर मेरो आफ्नो श्रम पसिनाको धज्जी उडाउने रेडियो नागरिकका साहु महाजनलाई मैले नजरअन्दाज गर्न सक्दिन ।
हो, काम गर्दा मेरा पनि केहि कमि–कमजोरी भए होलान् तर रेडियो नागरिकको स्तरोन्नतीका लागि सबै बल, वृद्धि र विवेक लगाएको थिएँ । जसरी म रेडियो नागरिकमा खटिएको थिएँ, त्यसरी नेपाल सरकारले सीमा सुरक्षाको लागि सुरक्षाकर्मीलाई खटाएको भए भारतीय सुरक्षाकर्मीको आतंक हामीले भोग्नुपर्ने नै थिएन ।
आफूसँग कला र क्षमता भएमा स्थान पाउँदो नै रहेछ । त्यसैले होला रेडियो नागरिकबाट बिनाकारण र बिना पारिश्रमिक लखेटिएपनि पनि अहिले म रेडियो पश्चिमी नेपालमा काम गरिरहेकी छु । जुन दिनबाट षड्यन्त्रमूलक ढंगबाट मलाई हटाइयो, त्यही दिनबाट यो रेडियोमा काम गर्ने अबसर पाएँ ।
यो युग आधुनिक भएसँगै रेडियो पत्रकारिता पनि आधुनिक हुँदै गएको छ । हिजो आकाशीय तरंगबाट मात्रै सुन्न सकिने रेडियो अहिले इन्टरनेटको माध्यमबाट समेत सुन्न सकिने भएको छ । रेडियो पत्रकारको बोली भाषा र लेखाई–बोलाइ र हरेक प्रस्तुतिमा समेत आधुनिकीकरण बन्दै गएको छ ।
अत्यमा, मलाई रेडियो पत्रकारितामा डोर्याउनुहुने मेरो आत्मिय साथी कमल बुढालार्इ हृदयदेखि नै बिषेश आभार प्रकट गर्दै सम्झन चाहन्छु । जसले बाल्यकालदेखिको रेडियोकर्मी बन्ने सपना पूरा गर्न मद्दत गर्नुभयो । उहासँग मैले धेरै कुरा सिकेको छु, जुन म कहिलै भुल्न सक्दिन उहाँको प्रेरणाले म अहिलेसम्म रेडियो पत्रकारिताबाट विचलित भएको छैन । एक असल रेडियोकर्मी बन्नको लागी मेरो रेडियो पत्रकारिताको अझै यात्रा जारी छ । (Realkhabar.com)