Apr 9, 2013

निशा भोलि सगरमाथा प्रस्थान:मेगा बैंकले कती सहयोग गर्‍यो ?


निशालाई रोटरी क्लब अफ नागार्जुन, सिटिजन बैंक, मेगा बैंक र तितो सत्य युनिटले सहयोग गरेको छ। 

अभिनेत्री निशा अधिकारी मंगलबार बिहान नौ बजे सर्वोच्च शिखर सगरमाथा आरोहणमा निस्कने भएकी छिन्। 'प्रकृतिलाई रक्षा गरेमात्र हामीपनि सुरक्षित हुन्छौं' भन्ने नारा लिएर उनी सगरमाथा आरोहण गर्दैछिन्। 'सबै तयारी पुरा भयो। बन्दले गर्दा केही दिन ढिला यात्रा सुरु गर्नुपर्यो। प्रशिक्षणदेखि खर्च जुटाउने काम सकाएर सिध्याएर मंगलबार लुक्ला पुग्दैछु,' टोलीका अन्य सदस्यलाई आधार शिविरमा भेट्ने उनले बताइन्। 
सोमबार बेलुका अवेरसम्म उनी आवश्यक सामानको किनमेलमा व्यस्त थिइन्। 'ल्यापटपदेखि क्यामेरासम्म एकैपटक किन्नु परेकोले भ्याइनभ्याइ भयो। किनमेल जति गरेपनि नसकिने रहेछ,' उनले भनिन।
फिल्म क्षेत्रका विभिन्न व्यक्तिले प्रोत्साहन दिएको उनले बताइन्। 'सेभेन समिटले ५० प्रतिशत सहुलियत दिएपछि विभिन्न संघसंस्थाले साथ दिएका छन्। त्यसैले मेरो खर्च कम भएको छ,' उनले भनिन्। उनीसँग ५ हजार ४ सय मिटरसम्म हिडिसकेको अनुभव छ। ६० दिने प्याकेजमा जेठको पहिलो सातासम्ममा उनले सगरमाथा चढिसक्नु पर्नेछ।
सगरमाथा आरोहणमा जानुअघि उनलाई मेगा बैंकले पनि साथ र सहयोग गर्ने आश्वासन दिएको छ। राजधानीमा सोमबार आयोजित कार्यक्रममा मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सगरमाथा आरोहण अभियानमा साथ दिने घोषणा गरे।
'नेपाली महिलाहरु सक्षम छन् भन्ने कुराको उदाहरण बनेकी अभिनेत्री निशालाई साथ दिन पाउँदा हामी गौरवान्वित छौं,' उनले भने। निशालाई रोटरी क्लब अफ नागार्जुन, सिटिजन बैंक, मेगा बैंक र तितो सत्य युनिटले सहयोग गरेको छ।(nagari knews)