Jul 15, 2013

पूर्वमन्त्रीकी छोरीको आत्महत्या रहस्य

पूर्वमन्त्री अनिल झाकी एक्ली छोरी श्वेताले शनिबार आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरिन् । छोरीको अकल्पनीय वियोगले झादम्पती शोकमा डुबेका छन् ।
परिवारका अनुसार आत्महत्या गर्नुभन्दा केही समयअघिसम्म पनि श्वेता सामान्य अवस्थामा देखिन्थिन् । उनी कुनै तनावमा रहेको हुन सक्ने कुरा झादम्पतीले अनुमानै लगाएका थिएनन् । आमाबुबाको कोठा भ्याकुम लगाएर सफा गरेपछि आफ्नो कोठामा पसेकी श्वेता आधा घन्टापछि मृत अवस्थामा भेटिइन् ।
श्वेताकी आमा ३ र ४ साउनमा हुने लोकसेवा आयोगको परीक्षाका लागि तयारी गर्दै थिइन् । आइतबार बिहान करिब साढे आठ बजेतिर श्वेताले कोठा सफा गर्न थालेकी आमालाई भनिन्, ‘तपाईं पढ्न जानुस्, म सफा गर्छु ।’ उनले भ्याकुम लगाएर आमाबुबाको कोठा सफा गरिन् । ओछ्यान चिटिक्क पारेर मिलाइन् अनि आफ्नो कोठामा छिरिन् ।
श्वेता आफ्नो कोठामा जाँदा बुबा माथिल्लो तलामा गएका थिए भने आमा खाना पकाउँदै थिइन् । आधा घन्टापछि खाना खान श्वेताको खोजी हुन थाल्यो । उनको कोठामा धेरैबेर ढक्ढकाउँदा ढोका खुलेन । त्यसपछि झादम्पती अत्तालिए । ढोका फोडेर हेर्दा श्वेताले संसार छोडिसकेकी थिइन् ।
श्वेताका हरेक इच्छा झादम्पतीले पुर्‍याइदिएका थिए । ‘तिमी जे चाहन्छौ, म पूरा गरिदिन्छु । तर कुनै पनि निर्णय गर्नुअघि मलाई भन्ने गर,’ आफ्नी छोरीलाई सधैँ सम्झाउने गरेको स्मरण गर्दै झाले  भने,  ‘तर, छोरीले कसैलाई सुइँको नदिई यति कठोर निर्णय गरिन् ।’
छोरी वियोगको पीडाले आमा डिम्पल आइतबार साँझसम्म लगभग अचेत अवस्थामा छिन् । उनलाई छिनछिनमा स्लाइन पानी चढाइरहनुपरेको छ । आइतबार दिउँसो झाको परिवार पुख्र्यौली घर रौतहटको मत्सरीमा गएको छ । मत्सरीमा नै श्वेताको सबै संस्कार पूरा गरिनेछ । मंगलबार उनको चार दिनको काम हुँदै छ ।
श्वेता भारतीय केन्द्रीय विद्यालयमा १२ कक्षामा पढ्दै थिइन् । उनको ११ मा ब्याक लागेको थियो । रिजल्ट आएको पनि झन्डै डेढ महिना भइसकेको थियो । छोरी फेल भएकोमा उनको बुबाले चिन्ता नलिन आग्रह गरेका थिए । ‘एकपटक फेल हुँदैमा टेन्सन नलेउ । अर्कोपटक पास भइन्छ । हामी नेताहरू पनि त एकचोटि चुनाव हार्छौँ अनि अर्कोचोटि जित्छौँ,’ उनले छोरीलाई यही भनेर सम्झाएका थिए । श्वेताले फेल भएको विषयमा धेरै तनाव लिएको पनि देखिएको थिएन ।
यसैबीच प्रहरीले लाजिम्पाटको रानीबारीस्थित झानिवासमा पुगेर घटनास्थल अवलोकन गरेका छन् । श्वेताका मोबाइल, डायरी र अन्य सामग्री प्रहरीले अध्ययन गरिरहेको छ । अहिलेसम्म सुसाइड नोट भेटिएको छैन । उनको मोबाइलमा पासवर्ड राखिएकाले मोबाइलभित्रका म्यासेज प्रहरीले थाहा पाउन सकेको छैन । दूरसञ्चारको सहयोगबाट उनको म्यासेज हेर्ने तयारी प्रहरीको छ ।
‘श्वेताले यसरी आत्महत्या गर्लिन् भनेर मैले कल्पनासम्म गरेको थिइनँ । उनी एकदमै हँसिली र विन्दास देखिन्थिन्,’ झाको घरमा भाडामा बस्ने पत्रकार वैकुण्ठ ढुंगानाले भने, ‘सबैसित एकदमै राम्रो व्यवहार गर्थिन् । कहिल्यै अँध्यारो अनुहार लगाएको थाहा छैन ।’ naya patrika

0 सबै कमेन्टहरु हेर्नुहोस्: