Jun 14, 2013

दिपकले तक्मेबुढा लाई निकालिदिए !


मुख्य सहायक निर्देशक दिपाश्री निरौलाको जानकारी अनुसार हाँस्य अभिनेता विल्सन विक्रम राईले 'छ एकान छ' नखेल्ने भएका छन् । व्यस्त समय र पारिश्रमी कम भएको कारण देखाउँदै विल्सनले फिल्म खेल्न नमानेको बताईएको छ ।
 
दिपाले भनिन्- 'उहाँले नजिकको मित्रलाई फिल्म नखेल्ने भनेर खबर पठाउनु भएको रहेछ । खबर सुनेपछि हामी आफैले सम्पर्क गर्दा उहाँले फिल्म नखेल्ने जवाफ दिनुभयो ।'  विल्सन अहिले स्टेज प्रस्तुती लिएर लण्डन भ्रमणमा छन् । दिपाले बताए अनुसार विल्सन दिपकराज गिरीको स्क्रिप्टमा हास्य रोल प्ले गर्न राजी भएका थिए । 'एउटै फिल्डको मान्छेसँगै काम गरौं भन्ने थियो,' दिपाले गुनासो गरिन्- 'तर उहाँले हाम्रो आग्रहलाई स्विकार्नु भएन ।'
 
विल्सनले रातो झन्डा देखाएपछि कान्तिपुर टिभीमा 'द फ्लप शो' हाँस्य कार्यक्रम सञ्चालन गर्ने सन्दीप क्षेत्रीलाई उक्त रोलका लागी हस्ताक्षर गराइएको छ । निर्देशक दिनेश डिसीले भने कलाकार इन आउट बारे आफु अनभिज्ञ रहेको बताए । लोकेशन हन्टिङका लागी (बिहिबार) धुलिखेल पुगेका निर्देशक डिसीले भने- 'रोलका लागी विल्सनजीसँग मेरो फोनमा समेत कुरा भएको छैन ।'

निर्मल शर्मा र दिपक राज गिरीको करिब चालिस लाख लगानी रहने बताइएको 'छ एकान छ'मा सन्दिपका साथ दिपक स्वयम, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, शिवहरी पौडेल, शैलेश आचार्य लगायतको अभिनय रहनेछ । लेडी क्यारेक्टरमा भने नीता ढुङगानालाई साइन गराइएको निर्देशक डिसीले बताए । पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजीत बाँस्कोटाको संगीत रहने कमेडी फिल्ममा एनवी महर्जनको फाइट डिरेक्सन रहनेछ ।
 
टेलिभिजन कलाकर्मी मञ्चको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकी दिपाश्रीले भने यस प्रोजेक्टमा मुख्य सहायक निर्देशकका मात्र भुमिका निभाउने छिन् ।  यही असार ६ गते सुटिङ प्रारम्भ गरिने 'छ एकान छ'लाई काठमाठौ र धुलिखेलमा छायाँकन गरिनेछ । रिलिज भने दशैमा गरिने जानकारी छ । दशैको मौका छोपेर निर्माता छविराज ओझाले लोफरको रिलिज डेट घोषणा गरिसकेका छन् । निर्माता ओझाले पनि लोफरमा विल्सनलाई प्रस्ताव गरेका थिए ।
 
 
दीपक भन्छन्- 'विल्सनलाई मैले निकालेको हुँ'
 
निकाल्ने र निस्कने बिबादमा 'छ एकान छ'का निर्माता दीपकराज गिरीले भने विल्सनलाई आफैले निकालेको बताएका छन् । फिल्मीखबरसँग कुरा गर्दै दीपकले भने- 'उहाँले ठूलो कुरा गर्नुभयो अनि मैले निकालेको हुँ ।' (Filmykhabar)

0 सबै कमेन्टहरु हेर्नुहोस्: