Jun 23, 2013

एक्लो जीवन

रातको झन्डै १२ बज्न लागिरहेको थियो । सुनसान सडकमा कोहि कसैको आवाज थिएन । म काम सकेर घर फर्कने क्रममा थिएँ । म आफ्नो कोठा पस्न मात्र के लागेको थिएँ , मेरो कोठा संगै जोडिएको अर्को कोठाबाट अनौठो किसिमको आवाज निस्किरहेको सुनें, तर मैले यकिन गर्न सकिन की त्यो केको आवाज भनेर ?

टक्क रोकिएँ एकछिन, नजिक गएर सुन्ने कोसिस गरें । कोहि छटपटीदै जापानी भाषामा ऐया ऐया भनिरहेको जस्तो सानो आवाज होकी जस्तो लाग्यो मलाई । त्यसैले मलाई भित्र छिर्न मन लाग्यो तर मलाई डर लागेर आयो किनकि जापानमा हत्पति कोही अरुको कोठामा छिर्दै छिर्दैनन र अरु छिरेको पनि मन पराऊदैनन ।

तर मेरो मन मानेन । ढोका ढकढकाएर भित्र छिरें । कोठाभरि पुरै जुस अनि बियरका खालि बोतलहरु छरपस्ट थिए । पाईला टेकने कुनै ठाऊँ थिएन त्यहा । फोहरहरु पनि जताततै छारिएका थिएकी मानौ की त्यो कोठा कुनै फोहर फाल्ने ठाऊँ जस्तो देखिन्थ्यो ।

यताउति हेरें कोहि देखिन मैले । एकछिन त्यहिं उभिएर बसें, अनि फेरी कराएको आवाज आयो । अनि मैले एउटा कपाल फूलेको झन्डै ८० नाघेको जस्तो देखिने बुडो जापानीलाई देखें, एउटा खाटमा कराउँदै ढलिरहेको अबस्थामा । त्यहा अरु कोही थिएन न उनका छोराछोरी थिए, न त कोहि नातागोता नै थिए । यस्तो अबस्था देखेर मलाई लाग्यो ऊनी लामो समयदेखि एक्लो जीवन बिताइरहेको हुनु पर्छ ।

म ऊनको नजिक गएँ, शरीर धेरै सिथिल देखिन्थ्यो, अनि धेरै बिरामी पनि । ऊ म संग केहि बोल्न खोज्यो तर बोल्न सकिरहेको थिएन । म आँत्तिएर पानी खुवाउन यताउती पानी खोजें कतै भेटिन मैले । अनि मेरो कोठामा पानी लिन गएँ । फर्केर पानी खुवाउछु भनि ऊनको टाउको उठाउन खोज्छु, ऊनको टाउको अनि पुरै शरीर चिसो पाउँछु मैले । तरपनि फेरी पानी खुवाउन खोज्छु, मुख आँ गराउन खोज्छु सक्दिन मैले । अनि नाडी छाम्छु रगत चल्न छाडिसकेको हुन्छ र मरिसकेको पाऊँछु मैले ।

म आँतिन्छु , मलाई डर लगेर आउँछ । अब के गर्ने? अनि कसलाई खबर गर्ने ? भनेर । किनकि ऊनको साथ न परिवार छ न छोरा छ न छोरी नै । कहाँ कहाँ नेपालबाट आएको म एक्लो छु उनको साथ । त्यसैले म माथी कुनै दोष लाग्ला भन्ने डर लागेर आउँछ मलाई । अनि ऊनको त्यो अबस्था देखेर म गंभीर हुन्छु, यो कस्तो चलन हो? की एक्लो जीबन जीउनुपर्ने? आफुले जन्माएको छोराछोरी भएरपनि । अनि के महत्व भो र? आफुले जन्माएको छोराछोरीको? जन्मायो, हुर्कायो, बढायो अनि मर्दा खेरि कोहि न कोहि भनेर ।

अन्तमा, प्रहरीलाई खबर गर्न मैले जापानी कोठामा हुने emergency रातो बटन दबाएँ । केहि छिनमानै आइपुगे गाड़ी लिएर केहि प्रहरीहरु । अनि मैले सम्पूर्ण घटनाका विवरणहरु बताईदिएँ उनीहरुलाई । अनि के के कागजहरु बनाएर मृत शरीरलाई जलाऊनको लागि भनेर काठको एउटा बाक्सामा हालेर लगेर जान्छन । जुनबेला न कोही उनका पछिपछि जाने मलामी हुन्छन् , न त कोही क्रियापुत्र नै हुन्छन , मात्र एक्लो थियो मृत शरीर, अनि थिए केहि चिन्दैनचिनेका प्रहरीहरू । (sahitya ghar)



- भिमेश्वोर ३ दोलखा
हाल: योकोहामा जापान

0 सबै कमेन्टहरु हेर्नुहोस्: