Showing posts with label Interview. Show all posts
Showing posts with label Interview. Show all posts

Mar 18, 2013

रेखा थापा अब राजनीति मा

  २०५७ सालमा चलचित्र ‘हिरो’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका रेखा थापाले नम्बर एक नायिकाको रुपमा पछिल्लो एक दशक नेपाली चलचित्र क्षेत्रमा राज गरिन् । र, उनको यात्रा व्यवसायिक रुपमा निकै सफल पनि रह्यो । सिनेमा सम्बन्धि अधिकांश अवार्ड समारोहमा उत्कृष्ट नायिकाको उपाधिमा पनि रेखाकै वर्चस्व रह्यो ।
चलचित्रमा गरेको अभिनयबाट मात्र नभएर विभिन्न क्षेत्रका व्यक्तित्वसँगको व्यक्तिगत सम्बन्धका कारण पनि चर्चामा आइरहने नायिका रेखा थापासँग उज्यालो अनलाइनका लागि मदन खनालले गरेको कुराकानीः
तपाईँको २०५७ सालदेखिको फिल्मी करियर कस्तो रह्यो ?
म मेहनत र लगनशीलतामा विश्वास गर्ने मान्छे हो । मैले चलचित्र क्षेत्रलाई ब्यवसायिक रुपमा अँगाल्छु भन्ने दृढ संकल्प लिएँ । र, निकै मेहनत गरेँ । १३ वर्षमध्ये ३ वर्षसम्म म कमिङ स्टारको रुपमा नै रहेँ । त्यसपछि मैले गरेका हरेक चलचित्र सफल भए । कारण हो, मेरो मेहनत । मैले दिनरात नभनी काम गरेँ । कुनै बेला दिनमा एउटा चाउचाउ मात्रै खाएर पनि सुटिङ गरे ।
सफल र अनुभवी निर्माता छवि ओझासँग बिहे भएकै कारण तपाइँ यति छिटै सफल हुनुभएको भन्छन् नी ?
एउटा प्रतिभाशाली मानिसका लागि कसैको बुई चढ्नु जरुरी हुँदैन । उहाँसँग बिहे भएपनि मैले मेहनत नगरेको भए म यो ठाउँमा हुने थिइन । छविजीको मार्गदर्शन मलाई त अहिलेसम्म मिलिरहेको छ । त्यतिबेला त म सानै थिएँ, उहाँको मार्गदर्शन नमिलेको भए मेरो यात्रा सहज हुने थिएन । 
छविजी तपाइँको बुबासँग तपाइँको हात माग्न जानुभएको थियो रे नि ?
हो । बुबा त छक्क पर्नुभएको थियो । बुबा र छविजी को उमेर ८/ ९ वर्षको मात्र फरक थियो । बुबाले फिल्म लाइनमा नै जाने हो ? भनेर सोध्नुभयो । मलाई फिल्मी क्षेत्रमा बुबाको सपोर्ट थियो तर मम्मीको सपोर्ट थिएन । उहाँसँगको विहे भयो भने सजिलो हुन्छ भन्ने कन्जरभेटिभ सोचाइ चाँही थियो । तर म उहाँसँगको विवाहलाई लेखान्त भन्न रुचाउँछु ।
छविसँग आधिकारिक बिहे भएको होइन, सँगै बसेको मात्र हो पनि भन्नुभयो । कुरा के हो ?
नेपालमा धेरै नायिकाहरु लिभइन रिलेशनसिपमा बसेका छन् । धेरैले यसलाई बिहे भन्दैनन् । मैले बिहे भनेँ । हाम्रो बिहे झ्याईँ झ्याईँ बाजा बजाएर भएको पनि होइन । त्यो परम्परागत बिहे थिएन । मनदेखि मानेको बिहे हो । उहाँको सबै सम्पत्ती मेरै नाममा नै थियो । अझैपनि पासपोर्टमा उहाँकै नाम छ ।
अनि डिभोर्स भएको भन्न मिलेन हैन ?
हाम्रो बिहे कानूनी रुपमा भएको भए पो डिभोर्सको कुरा । औपचारिक रुपमा डिभोर्स भएको छैन । मैले उहाँको सबै सम्पत्ति फिर्ता गरिदिएँ । अब केका लागि डिभोर्स ?
अहिले बोलचाल छ कि छैन त ?
म उहाँलाई अझैपनि सम्मान गर्छु । कुनैबेला एउटै छतमुनी बसेर पनि बोलचाल भएन । तर अब त्यस्तो छैन । व्यवसायिक सम्बन्ध छ । झन् राम्रो सम्बन्ध बन्दैछ ।
एउटा उचाईमा पुगेपछि रेखाले छविको साथ छोडेको पनि भन्छन् नी ?
मैले कहाँ साथ छोडेँ ? त्यस्तो कसैले भन्छ भने संकीर्ण सोचको उपज हो । भोलि छविजीलाई कुनै समस्या पर्‍यो भने सहयोग गर्ने पहिलो व्यक्ति रेखा थापा नै हुन्छे ।
दुई वर्षयता धेरै नायिकाको आगमन भयो । उनीहरुको कामलाई कस्तो मानिरहनु भएको छ ?
आगमनको हिसाबले मात्र म अगाडि हो तर उमेरको हिसाबले हामी उस्तै छौं । उनीहरुको काम राम्रो छ । तर अहिले आएकाहरुले नयाँ ट्रेण्ड लिएर आउनुपर्थ्यो, पुरानै फलो गर्नु राम्रो होइन ।
नायिका बन्न कति योग्यता चाहिन्छ ?
नायिका बन्न शिक्षाको आवस्यकता पर्दैन । सामान्य लेखपढ जाने भैहाल्यो नी । कला ठुलो कुरा हो, अध्ययन हैन । तर कलासँगै अध्ययन छ भने झन् राम्रो ।
नेपाली चलचित्रलाई अनावस्यक रुपमा अंग प्रदर्शन गराएको आरोप छ । कसरी हेर्नुहुन्छ ?
कोही सफल के कारणले भएको छ भन्ने कुरा अध्ययन हुन जरुरी छ । रेखा थापा किन सफल भई भन्ने कुरा अध्ययन हुन जरुरी छ । छोटो लुगाले मात्र हिट भएको हो कि मेहनतले हो भन्ने कुरा नयाँ आउने नायिकाहरुले बुझ्नुपर्छ । अंग प्रदर्शन गरेरमात्र त हिट हुँनै सकिदैन । कसैले सफल भइन्छ भनेर दावी गर्छ भनेपनि म मान्दिन ।
बिचमा तपाईँको ब्वायफ्रेन्ड छ भन्ने पनि हल्ला आयो नी ?
म एकदम पारदर्शी मान्छे हो । त्यस्तो भए त म आफै भन्छु नी । त्यो हल्लामात्र हो ।
तपाईँको धेरै नायकसँग व्यवसायिक सम्बन्ध बिग्र्यो भनिन्छ । कारण के हो ?
खै मै पो छुचो हो की ? उनीहरु रेखा थापाको व्यानरमा काम गर्ने रहर देखाउँछन् । आउँछन्, मेरै व्यानरमा चलचित्रमा काम गर्छन्, अनि पछि को हो रेखा थापा भन्दै हिँड्छन् । मलाई नारीलाई डोमिनेट गरेको मन पर्दैन । केटी मान्छेलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ भन्ने मेरो विचार हो । अनि म त्यसबिरुद्ध बोल्छु, सायद अरुलाई मन पर्दैन ।
आर्यन सिग्देलसँग तपाईँको अनस्क्रिन जोडी धेरैले मन पराए । तर अहिले बोलचाल छैन भन्ने सुनिन्छ । फेरी फिल्ममा सँगै देख्न पाइएला ?
उ मेरो निकै नजिकको साथी हो । धेरै मिल्यो भने कहिलेकाहीँ झगडा पनि हुन्छ । कहिलेकाहीँ उ अरुको कुरामा लागेर बहकिन्छ । उसँग मैले फिल्म नै खेल्दिन भन्ने कुरा गलत हो । मैले योसँग खेल्छु, उसँग खेल्दिन कहाँ भन्छु र ?
नेपाल चलचित्र विकास बोर्डमा महिला किन अध्यक्ष नभएका ? तपाईँ अध्यक्ष हुने कुरा पनि थियो नी ?
चलचित्र क्षेत्रमा नलागेका मानिसहरु नै अध्यक्ष भए एकाध बाहेक । चलचित्र क्षेत्रबाट मैले प्रतिनिधित्व गरेर विकास बोर्डमा जान खोज्दा पुरुष चलचित्रकर्मीलाई नै टाउको दुख्दो रहेछ । कतिपय सिनियर महिला कलाकारले पनि कम उमेरको मान्छे भनेर असहयोग गरे । मैले १२/ १३ वर्षदेखि चलचित्र क्षेत्रमा काम गरेर स्पटब्याइ देखि सबै खाले निर्माताको समस्या बुझेको छु । म भन्दा अनुभवी को हुन सक्छ ? ५ वटा फिल्म खेल्ने ६० वर्षको कलाकार अनुभवी रे । १००/ १५० फिल्ममा काम गर्ने अनुभवी नहुने कसरी हुन्छ ? विकास बोर्डमा सक्रिय मान्छे पनि चाहिन्छ । उमेरमा, जोसमा पो मान्छेले काम गर्न सक्छ । नेपालमा बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरुको घर बनाउन पनि दिदैन ।
राजनीतिमा आउने सोच पनि विकास भएको हो ?
अवश्य ! अब चाँडै नै राजनीतिमा आउने सोँच छ । तर त्यसभन्दा पहिले समाजसेवामा लाग्छु । अब गैर सरकारी संस्था (एनजिओ) खोल्दैछु । त्यस एनजिओ मार्फत शिक्षाबाट वञ्चित हुनुपरेका वालवालिका र महिलाको शिक्षाको लागि पहल गर्दैछु । त्यसपछि मेरो राजनीतिक यात्रा सुरु हुन्छ ।
कुनै दिन मन्त्रीमण्डलमै पनि देख्न पाइएला त ?
राजनीति गरेपछि असम्भव भन्न मिलेन नी । (लामो हाँसो)

Mar 17, 2013

म पुरानै कलाकारको काखमा हुर्केको मान्छे हुँ

विल्सन विक्रम राई, यो नाम न फिल्म उधोगका लागि नयाँ हो न दर्शकमाझ । बाल्यकालदेखि नै कला क्षेत्रमा संघर्षरत विल्सनले छोटो समयमा पाएको चर्चा र व्यस्तताको साथमा दर्शकको मायाले उनलाई अहिलेका सुपरस्टार भन्दा कसैले आपत्ति जनाउन सक्दैन । बिशेषगरी मेरी बास्यैमा निर्वाह गरेको तक्मे बुढोले उनलाई नाम दाम सबै दिएको छ । हुनत उनले अभिनय गरेका थोरै मात्र फिल्म रिलिज भएका छन् तर जे जति भए ति सबैमा उनको कामको तारिफ गरिन्छ । अहिलेका यिनै युवा सुपरस्टार विल्सनसँग प्रदर्शनको क्रममा रहेको फिल्म 'रिदम' को बिषयमा गरिएको अर्न्तवार्ता प्रस्तुत छ -
 
रिदम फिल्म रिलिज मिती नजिकिंदै गर्दा कस्तो अनुभुती भईरहेको छ ?
गत शुक्रबार अष्टनारायण हलमा एउटा फिल्म हेर्न गएको थिएँ । हल भित्र प्रवेश गर्नै लाग्छ सिठ्ठी र तालीको बर्षा भईरहेको थियो । फिल्म छुट्यो कि भनेर हतार हतार भित्र पस्दा त...(हाँस्दै) रिदमको ट्रेलरमा मलाई देखेर दर्शकले ताली बजाईरहेका रहेछन् । यसले एउटा उत्साह थपेको छ र फिल्मको प्रतिक्रिया लिन आतुर छु । त्यसैमाथी यहि फिल्मको लागि भनेर युके टुरलाई रोकेर बसेको छु । यो फिल्मलाई हिट बनाएर म युके टुरमा जान्छु ।
 
रिदममा के छ त्यस्तो जसले तपाईं आफैलाई निकै उत्साहित बनाएको छ ?
यो फिल्ममा देश र जनताको कुरा छ । माया प्रेमको कुरा छ । त्यसैले यो मेरो मात्र धडकनको सुरताल हैन, यो त सम्पूर्ण नेपालीको धड्कनको सुरताल हो । अहिलेको युवा जो हरेक क्षेत्रबाट ठगिएको छ त्यसको प्रतिनिधि पात्रको रूपमा म यो फिल्ममा देखिंदै छु । वास्तवमा भन्दा साँच्चिकै मैले एउटा राम्रो फिल्ममा काम गर्न पाउँदा खुसी लागेको छ । मेरो यो प्रतिक्षित फिल्म हो त्यसैले पनि म उत्साहित हुनु स्वाभाविक हो ।
 
फिल्ममा त तपाईंले निकै राष्ट्रियताको कुरा गर्नु भएको छ रे ! नेतालाई पनि उत्तिकै व्यङ्ग्य गर्नु भएको छ रे ! तपाईंको भुमिकाबाट दर्शकले के पाठ सिक्ने ?
हुनत लेखकले जे लेख्नु भयो र निर्देशकले जे गर्न भन्नु भयो त्यो मैले गरेको हुँ । तर, यो कुरा सत्य हो कि आम नेपालीले देशको बारेमा बोल्न नसकेको कुरा मैले फिल्म मार्फत बोलेको छु । यसले दर्शकमा देश र नेताको बारेमा बोल्नुपर्छ भन्ने सन्देश दिन्छ । नेपाल र नेपालीको पिडाको एक अंश हो रिदम । अर्को भन्नै पर्ने कुरा, यो फिल्म गर्दा मलाई इम्प्रोभाईजको जरूरी भएन किनकी मैले देखिरहेको र अनुभव गरिरहेको चरित्रलाई सजिलै निर्वाह गरें । मेरो मन नेपाली हो त्यसैले पनि नेपाली मन भएको भुमिका निर्वाह गर्न त्यति गार्‍हो नभएको हुनसक्छ ।
 
विदेशको कार्यक्रम होस् या स्वदेशको तपाईंले रिदमको नाम निकै लिनुहुन्छ । युके टुर पनि रोकेर बसेको छु भन्नु हुन्छ । फिल्मले निकै पैसा दिएको छ कि क्या हो ? कि बिदेशको राईट दिएको छ निर्माण युनिटले ?
मैले आठ लाख चाहिं लिएको छैन र मागेको पनि छैन । किनकी, अहिले निर्मातालाई आठ लाख उठाउन नै हम्मे हम्मे परेको छ । मैले आठ लाख डिमाण्ड गर्नु भनेको मेरो नामले २० लाखको व्यापार गर्नु हो । अहिले नै म २० लाखको व्यापार दिन सक्ने कलाकार भईसकेको छैन जस्तो लाग्छ । जहाँसम्म रिदको नाम लिएको र बिदेश राईटको कुरा गर्नु भएको छ, रिलिज हुन लागेको आफू अभिनित फिल्मको कुरा गर्नु, प्रचार प्रसार गर्नु मेरो धर्म नै हो । म जहाँ जान्छु आफूले अभिनय गरेको फिल्मको नाम लिन्छु । अहिले रिदम चल्न लागेको छ त्यसैले मेरो मुखमा रिदम झुण्डिनु स्वाभाविक हो । अर्को कुरा, मैले भनेर कुनै देशमा मेरो फिल्म रिलिज हुन्छ भने हरेक फिल्म म आफ्नो तर्फबाट रिलिज गर्नेछु । रिदम पनि मैले आफ्नो तर्फबाट केहि देशमा रिलिजको लागि कुरा गरेको छु । सायद उहाँहरूले एउटा राम्रो फिल्म रिलिज गर्नबाट चुक्नु हुनेछैन भन्ने बिश्वास छ ।
 
पछिल्लो समयमा दर्शकले खासै नेपाली फिल्मलाई त्यति रूचाएको पाईएको छैन । तपाईंको विचारमा दर्शकले कस्तो फिल्म रूचाउँछन् जस्तो लाग्छ ?
पिज्जा, बर्गर, हट डग, अमेरिका, लण्डन, अष्ट्रेलियाको कुरा गर्दैमा दर्शकले फिल्मलाई मन पराउँछन् भन्ने छैन र त्यो नयाँ धारको फिल्म पनि हुँदैन । हामी नेपालीलाई त गुन्द्रुक, सिस्नु, ढेंडो, आँटो, डाँडापाखा कै कुरा मन पर्छ र यसले नै नेपाली पन दिन्छ जुन दर्शकको मनमा बसेको छ । गएको एक बर्षमा मैले करिब २० देशको भ्रमण गर्दा अनुभव गरेको कुरा हो यो । ति देशका फिल्ममा कहिं न कहिं उनीहरूको माटोको कुरा उठेको हुन्छ तर हामी अर्काको देशको माटोको कुरालाई बढि जोड दिंदै छौं ।  हामी नेपाली फिल्मकर्मीहरूको फिल्ममा नेपाली पन हराउँदै गएको छ । यो नेपाली पन तपाईंले रिदममा भने पाउन सक्नुहुनेछ ।
 
पिज्जा, बर्गर, हट डग, अमेरिका, लण्डन, अष्ट्रेलियाको कुरा नगर्ने हो भने, दर्शकलाई संसार नचिनाउने हो भने हामीले कसरी बलिउड र हलिउडसँग कम्पिटिशन गर्ने त ?
बन्दुक, हेलिकोप्टर, महंगा गाडी, होटल, रेष्टुरेन्ट, बिदेशका चिल्ला सडक देखाउँदै कनिकुथी गर्दै अंग्रेजी बोलेर हामी बलिउड र हलिउडको दाँजोमा पुग्न सक्दैनौं । हामी उनीहरूसँग यि कुरामा कम्पिटिशन गर्न पनि सक्दैनौं । हामीले मात्र हाम्रो फिलिङग्सले जित्न सक्छौं, हाम्रो नेपाली भावनाले उनीहरूलाई जित्न सक्छौं । हामीले हाम्रै देश भित्रको कथालाई बोकेर बिश्व हाँक्न सक्छौं । यि कुरा पहिलेका फिल्ममा पाईन्थ्यो तर अहिले हामीले हाम्रै नेपाली पनलाई बिर्सदै गएका छौं जसले गर्दा हामी दर्शकको मनमा बस्न सकेका छैनौं ।
 
तपाईं त नयाँ जेनेरेशनको मान्छे, सोच त पुरानै जेनेरेशनको रहेछ नि !
म पुरानै कलाकारको काखमा हुर्केको मान्छे हुँ । म फिल्ममा केहि गर्छु गर्न नसके यहिं मर्छु भनेर आएको मान्छे । त्यसैले नेपाली फिल्मको मर्मलाई, भाषालाई थोरै भए पनि नजिकबाट बुझ्ने मौका पाएको छु । म पुराना कलाकार तथा फिल्मकर्मीलाई सम्मान गर्छु किनकी उहाँहरूला वास्तविक नेपाली मन र नेपाली पन छ । यो भन्दैमा मैले उहाँहरूको चाकरी गरेको पनि हैन । अहिले नयाँ धारका कलाकार आए भनिन्छ तर उहाँहरूले पुराना कलाकारलाई सम्मान गर्नुपर्छ र उहाँहरूबाट केहि पाठ सिक्नुपर्छ । पुरानै कुरालाई दोहोर्‍याउनु पर्छ भन्न खोजेको पनि हैन । पुराना कुरालाई आत्मसाथ गर्दै त्यसलाई नयाँ रूप दिन सक्यो भने हामी दर्शकको मनमा बस्न सक्छौं ।
 
अहिले त पुरानाको दिन गए नयाँको आए भन्ने गरिएको छ त !
यो क्षेत्रमा कोही पनि नयाँ र पुरानो हुँदैन । हामीले कसैलाई रिटायर भयो भन्न मिल्दैन किनकी कलाकार जुनसुकै बेला पनि बिक्न सक्छ । हामी नमरूञ्जेल हाम्रो दिन सकिंदैन ।
 
अहिले तपाईंको दिन निकै आएको हामीले देखेका छौं । संघर्षकालिन समयमा धेरैको पाउ मोल्नु भयो रे ! त्यसैको प्रतिफल हो कि तपाईंको आफ्नो मेहनतको फल ?
तपाईंले बिगतलाई कोट्याईहाल्नु भयो । (अलि भावुक हुँदै) हो, मैले यो क्षेत्रमा आउन धेरैको पाउ मोलें । मेरो कुच्चेको अनुहारलाई कसैले पत्याउथेन । कोरशको पनि पछाडी लगेर राख्दिन्थे तर म हरेश खाईन । जस्ले मलाई पत्याउनु हुन्थेन आज उहाँहरूकै प्रेरणाले त्यहि कोरश नाच्ने ठाउँको अगाडी लिड गरिरहेको छु । यो मेरो आफ्नो परिश्रमले मात्र हैन दर्शकको मायाले पनि हो । आज जुन माया पाएको छु त्यो मलाई कुनै दिन भारी हुनेछैन ।
 
अहिले तक्मे बुढाको नामले निकै परिचित हुनुहुन्छ । देशबिदेश निकै घुमिसक्नु भयो । नामसँगै दाम पनि उत्तिकै कमाउनु भएको छ रे ! तपाईंको सपना चाहिं के छ ?
सर्वप्रथम म तक्मे बुढाको नाम दिने मेरी बास्यै युनिट प्रति आभार प्रकट गर्दछु । तर म तक्मे बुढाको नामले सधैं परिचित हुन चाहन्न । म विल्सनकै नामले चिनिन चाहन्छु किनकी तक्मे बुढा जस्तो पात्र विल्सनले धेरै निकाल्न सक्छ । दाम पनि अलि अलि कमाएको छु । मेरो अबको सपना भनेको सानो घर बनाउने हो । डेराको जीन्दगी धेरै बिताएँ । यसरी नै दर्शकको माया पाएँ भने र मेरो कलालाई विश्वास गर्दै जानुभयो भने केहि समयमा आफ्नो सपना पूरा गर्छु । तर अहिले भने सपना नै देखिरहेको छु ।

घरसँगै जीवनसाथीको घर कहिले बनाउने त ?
(फाट्टफुट्ट निस्केका जुँगा मुसार्दै हल्का मुस्कानका साथ) म अहिले त केटाकेटी नै छु । यो बिषयमा अहिले सोचेको छैन । अझै दर्शकको प्रिय बन्न बाँकी नै छ । अनि मात्र म उनीको प्रिय बन्छु ।

उनी भन्नाले प्रेममा भने हुनुहुन्छ ?
प्रेम त गरेको छु । उनी अहिले सात समुन्द्र पारि छिन् । त्यो सात समुन्द्र पार गरेर उनीलाई वारी ल्याउन अझै केहि बर्ष लाग्नेछ ।
 
अन्तमा ?
हामीले नेपाली दर्शकलाई मात्र समेट्ने गरेका छौं तर यो भुल्नुहुँदैन कि नेपालीभाषीहरू पनि हाम्रो कला र संस्कृतीलाई माया गर्ने दर्शक स्रोता हुन् । त्यसैले हामीले नेपालीभाषी र नेपाली गीतसंगीत तथा कला र संस्कृतीलाई माया गर्ने दर्शक स्रोतालाई नजिक राख्नु पर्छ अनि मातर हामी उहाँहरूको मनमा बस्न सक्छौं ।
 

Mar 8, 2013

राजेशकी प्रेमिका संगको कुराकानी

'प्लिज  तस्बिरचाहिँ नखिच्नुहोला।'
तपाईंको नाम ?
मधु भट्टराई
अनुहार त मंगोलको जस्तो देखिन्छ, नाम थर ढाँट्नुभएको हो ?
होइन, ढाँट्ने भए यहाँ किन आउँथें र ?
तैपनि मंगोल अनुहारको केही कारण त होला नि ?
बुवाले अन्तरजातीय विवाह गर्नुभएको हो।
घरमा को-को हुनुहुन्छ ?
आमा र दुई भाइ।
तीन वर्षदेखि राजेशजी तपाईंको चर्चा गरिरहनुभएको छ, तर तपाईं कतै देखिनुहुन्न। यसरी लुक्नुपर्ने कारणचाहिँ के हो ?
हामी उपयुक्त समयको प्रतीक्षामा थियौं। म ग्लामर क्षेत्र बाहिरको मानिस भएकाले अप्ठयारो लागेको हो।
अहिले उपयुक्त समय हो भन्ने लाग्यो ?
अझै लागेको छैन। विवाहपछि नै बोलौं जस्तो लागेको थियो, तर तपाईंहरूले राजेशजीकी प्रेमिका नै छैनन् भन्न थालेपछि बाध्यताकै कारण  बोलेकी हुँ।
पहिलोपल्ट राजेश हमाललाई कहाँ देख्नुभयो ?
मैले हेरेको पहिलो चलचित्र गोपीकृष्ण थियो। त्यसको नायकका रूपमा भेटेकी हुँ।
औपचारिक भेट नि ?
सात वर्षअघि एउटा सामाजिक समारोहमा भेट भएको थियो। त्यो बेला म उहाँकी फ्यान थिएँ।
कल्पनाको राजेश हमाल र यथार्थको राजेशबीच के भिन्नता थियो ?
त्यो बेला सामान्य परिचय मात्र भएको थियो। भेट छोटो थियो। यद्यपि मैले उहाँलाई मेहनती र असल चरित्रको व्यक्तिका रूपमा पाएकी छु र  यस्तै कल्पना पनि गर्थें। भिन्नता धेरै रहेनछ।
पहिलोपल्ट तपाईंले मन पराएको सिग्नल कसरी दिनुभयो ?
म भेट गर्ने बहानाको खोजीमा थिएँ। केही प्रयासपछि भेटघाट भयो। हामीले एक-अर्कालाई चिन्दै गयौं र बिस्तारै एक-अर्कालाई मन पराउँछौं  भन्ने थाहा भयो। म बेलाबेलामा फोन गर्थें उहाँलाई।
पहिलो भेटदेखि अहिलेसम्मको अवस्था सम्झँदा राजेशजीमा के परिवर्तन देख्नुभयो ?
उहाँ परिपक्व र अनुशासित हुनुहुन्छ र मेहनती पनि असाध्यै, तर समयसँगै मानिसको जीवनमा पनि सानातिना परिवर्तन भैरहन्छन्। यसले  गर्दा उहाँको व्यवहारमा, सोचमा सामान्य परिवर्तन आउनु स्वाभाविक हो।
तपाईंको प्रेम कस्तो प्रकारको हो ?
प्रेमका प्रकारका बारेमा मलाई राम्रोसँग थाहा भएन। मेरो विचारमा प्रेम दुई प्रकारको हुन्छ, स्वार्थ र निःस्वार्थ। मेरो प्रेम सफा छ।
प्रेम के हो ?
प्रेमलाई सम्भवतः शब्दका माध्यमले बुझाउन सकिँदैन। प्रेमलाई केही शब्दले बुझाउने प्रयास हुन्छ भने पनि ती शब्दभन्दा प्रेम माथि हुन्छ।
प्रेम किन गरिन्छ ?
प्रेम किन गरिन्छ त्यो मलाई थाहा भएन। म पनि किन उहाँलाई प्रेम गर्छु थाहा छैन। यति हो, म उहाँलाई प्रेम नगरी बस्न सक्दिनँ।
प्रेमका निम्ति तपाईंको उमेर परिपक्व छ जस्तो लाग्छ ?
प्रेममा उमेरले खासै महत्व राख्दैन। प्रेम जुनसुकै उमेरमा पनि हुनसक्छ। प्रेम कहिले हुन्छ भन्ने विषयमा आफैंलाई थाहा हुँदैन। मलाई जब उहाँसँग प्रेम भयो, मेरो उमेर सानै थियो। मेरो यो प्रेम सफल हुनेछ भन्ने मेरो हृदयले मानेको थियो। आज प्रेममा पाँच वर्ष बितेको सम्झँदा खुसी  लाग्छ।
यो प्रेम नै हो भन्नेमा पक्का हुनुहुन्छ ?
जुन किसिमको प्रेमका कुरा हामी गरिरहेका छौं, म गर्वका साथ भन्छु- यो मेरो पहिलो प्रेम हो र अन्तिम पनि। मलाई खुसी लाग्छ, हाम्रो प्रेम  सुरुका दिनमा जस्तो ताजा थियो, आज पनि त्यस्तै छ। फरक यति मात्र छ कि हामीमा अझ बढी माया छ। म एकदमै खुसी छु।
प्रेम हुँदाको अनुभूति कस्तो हुँदो रहेछ ?
मायामा परेपछि यस्तै हुँदो रहेछ सायद, सधैं सँगै बस्न मन लाग्ने। कहिल्यै  नछुट्टिऊँ भन्ने लाग्दो रहेछ। त्यसैले नै हामीले विवाह गर्ने निर्णय  गरेका हौ।
राजेश हमालले तपाईंलाई भ्यालेन्टाइन डेमा घुमाउन लानुभयो ?
(हाँसो) उहाँ जहाँ हुनुहुन्छ, त्यहीँ नै मेरो भ्यालेन्टाइन स्पट हो। मेरो विचारमा प्रेमीको साथ छ भने खोला किनारको ढुंगा होस् कि सुन्दर  फूलको बगैंचा...त्यसले प्रेमको सानिध्यमा खासै फरक पर्दैन। बाइ द वे भ्यालेन्टाइन डेको दिन उहाँ नेपालगन्जमा हुनुहुन्थ्यो, म काठमाडौंमा।
तपाईंहरू जोडिनुमा कसको बढी भूमिका छ ?
हामी एकसाथ हुनुमा हामी दुवैबीचको मायाको भूमिका छ। माया छ र त यो सम्बन्ध बलियो छ।
तपाईंहरूको जोडी मिल्छ जस्तो लाग्छ ?
मलाई हामी दुवै जना एक-अर्काका लागि मात्र बनेका हौं जस्तो लाग्छ।
राजेश हमालको विगतका प्रेम प्रसङ्गले तपाईंको प्रेमलाई असर पार्छ नि, होइन ?
उहाँको जिन्दगीको विगतका कथाहरू उहाँलाई प्रिय छन्, तर हामी अहिले विगतभन्दा बढी वर्तमानमै सन्तुष्ट छौं।
उमेरको ग्याप बढी छ भन्ने लाग्दैन ?
हामीबीचको उमेरको ग्यापलाई मायाले जोडिदिएको छ।
राजेश हमालको व्यक्तित्वको वर्णन गर्नुपर्‍यो भने, के भन्नुहुन्छ ?
उहाँ आकर्षक हुनुहुन्छ। म उहाँको बौद्धिकताको सम्मान गर्छु। उहाँमा यस्ता धेरै गुण छन्, जसले गर्दा उहाँ आज यो स्थानमा हुनुहुन्छ। मलाई  खुसी लाग्छ, हाम्रो भेट भयो र उहाँलाई नजिकबाट चिन्ने मौका पाएँ। हामीबीच निकटता बढ्यो। हामी चाँडै विवाह गर्ने तयारीमा छौं।
राजेश हमाल माया गर्न जान्ने खेलाडी हो ?
उहाँलाई माया गर्नचाहिँ अलि आउँदैन, मैले सिकाइरहेकी छु। अँ केही सुधार आउँदैछ।
परिवारलाई थाहा छ ?
सुरुदेखि नै थाहा छ। म आमालाई जानकारी नदिई जीवनको गम्भीर निर्णय गर्नु हुँदैन भन्ने कुरामा विश्वास राख्छु।
तपाईंको प्रेमसम्बन्धी जानकारी निकै     रमाइलो लाग्यो, कुन लेखकबाट बढी प्रभावित हुनुहुन्छ ?
ब्राजिलियन लेखक पाउलो कोहेलो मन पर्छन्। उनले जीवनका गम्भीर कुरा सरल तर मार्मिक रूपमा प्रस्तुत गर्छन्।
तपाईं समाजशास्त्रको विद्यार्थी, नेपाली समाजका महिलाहरूका सम्बन्धमा राम्रोसँग परिचित हुनुहुन्छ, तपाईर् आफूलाई कुन वर्गको नारीमा  राख्नुहुन्छ ?
मलाई नारीको कुनै वर्ग हुन्छ जस्तो लाग्दैन। सबै नारी समान हुन्छन्। मायालु, संवेदनशील एवं क्षमाशीलको अर्थमा।
राजेशजीलाई तपाईंले मन पराउनु सामान्य नै हो, किनभने उहाँ नेपालको सुपरस्टार हो, तर राजेशजीले तपाईंलाई नै किन मनपराउनुभयो  होला ?
मैले राजेशजीलाई सुपरस्टार भन्दा पनि एक असल व्यक्ति भएकाले मन पराएकी हुँ। यो कुरा र मेरो भावना उहाँले बुझ्नुभएको छ र खुसी  पनि लाग्छ। उहाँले मलाई किन मन पराउनुभयो भन्ने कुराचाहिँ उहाँसगैै सोध्नुपर्छ।
तपाईंको विचारमा प्रेम हुनु वा विवाह हुनु पूर्वजन्मको फल हो ?
मैले यस विषयमा सोचेकी छैन।
ईश्वर धर्म वा सांसारिक कुरालाई नेपाली समाजले जसरी मान्छ, तपाईं त्यसैगरी मान्नुहुन्छ कि तपाईंका धारणा फरक छन् ?
म सबै भगवानप्रति आस्था राख्छु। म नेपाली नारी हुँ।
विश्वभरि नै सेलिब्रेटीसँगका वैवाहिक जीवन सधैं धरापमा देखिन्छन्, पक्कै पनि तपाईंलाई पनि डर लाग्दो हो, होइन ?
जुन सम्बन्धमा विश्वास हुँदैन, त्यहाँ डर हुन्छ। डरले गर्दा विभिन्न किसिमका शंका वा अवरोध आउने हो, तर मैले उहाँलाई राम्रोसँग चिनेकी  छु र त्योभन्दा राम्रोसँग मैले आफूलाई चिनेकी छु। त्यसैले कुनै डर छैन।
राजेशजीका लागि तपाईंले दिने सर्वोत्तम उपहार भनेको सन्तान नै हो, यस्तो उपहारका बारेमा तपाईंको धारणा के छ ?
अहिले हामी विवाहका बारेमा सोच्दैछौ, त्यसपछि मात्र सन्तानका विषयमा कुराकानी होला।
तपाईं पहिलो पटक पत्रकारको चंगुलमा पर्नुभयो, पत्रकारका बारेमा तपाईंको धारणा के रह्यो ?
हरेक क्षेत्रमा लागेका व्यक्तिले आफ्नो पेसागत कर्तव्य गर्ने हो। तपाईंले पनि त्यही गर्नुभएको छ जस्तो लाग्छ। पत्रकारसँगको भेट मलाई पनि  रमाइलो लाग्यो।