Mar 18, 2013

रेखा थापा अब राजनीति मा

  २०५७ सालमा चलचित्र ‘हिरो’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका रेखा थापाले नम्बर एक नायिकाको रुपमा पछिल्लो एक दशक नेपाली चलचित्र क्षेत्रमा राज गरिन् । र, उनको यात्रा व्यवसायिक रुपमा निकै सफल पनि रह्यो । सिनेमा सम्बन्धि अधिकांश अवार्ड समारोहमा उत्कृष्ट नायिकाको उपाधिमा पनि रेखाकै वर्चस्व रह्यो ।
चलचित्रमा गरेको अभिनयबाट मात्र नभएर विभिन्न क्षेत्रका व्यक्तित्वसँगको व्यक्तिगत सम्बन्धका कारण पनि चर्चामा आइरहने नायिका रेखा थापासँग उज्यालो अनलाइनका लागि मदन खनालले गरेको कुराकानीः
तपाईँको २०५७ सालदेखिको फिल्मी करियर कस्तो रह्यो ?
म मेहनत र लगनशीलतामा विश्वास गर्ने मान्छे हो । मैले चलचित्र क्षेत्रलाई ब्यवसायिक रुपमा अँगाल्छु भन्ने दृढ संकल्प लिएँ । र, निकै मेहनत गरेँ । १३ वर्षमध्ये ३ वर्षसम्म म कमिङ स्टारको रुपमा नै रहेँ । त्यसपछि मैले गरेका हरेक चलचित्र सफल भए । कारण हो, मेरो मेहनत । मैले दिनरात नभनी काम गरेँ । कुनै बेला दिनमा एउटा चाउचाउ मात्रै खाएर पनि सुटिङ गरे ।
सफल र अनुभवी निर्माता छवि ओझासँग बिहे भएकै कारण तपाइँ यति छिटै सफल हुनुभएको भन्छन् नी ?
एउटा प्रतिभाशाली मानिसका लागि कसैको बुई चढ्नु जरुरी हुँदैन । उहाँसँग बिहे भएपनि मैले मेहनत नगरेको भए म यो ठाउँमा हुने थिइन । छविजीको मार्गदर्शन मलाई त अहिलेसम्म मिलिरहेको छ । त्यतिबेला त म सानै थिएँ, उहाँको मार्गदर्शन नमिलेको भए मेरो यात्रा सहज हुने थिएन । 
छविजी तपाइँको बुबासँग तपाइँको हात माग्न जानुभएको थियो रे नि ?
हो । बुबा त छक्क पर्नुभएको थियो । बुबा र छविजी को उमेर ८/ ९ वर्षको मात्र फरक थियो । बुबाले फिल्म लाइनमा नै जाने हो ? भनेर सोध्नुभयो । मलाई फिल्मी क्षेत्रमा बुबाको सपोर्ट थियो तर मम्मीको सपोर्ट थिएन । उहाँसँगको विहे भयो भने सजिलो हुन्छ भन्ने कन्जरभेटिभ सोचाइ चाँही थियो । तर म उहाँसँगको विवाहलाई लेखान्त भन्न रुचाउँछु ।
छविसँग आधिकारिक बिहे भएको होइन, सँगै बसेको मात्र हो पनि भन्नुभयो । कुरा के हो ?
नेपालमा धेरै नायिकाहरु लिभइन रिलेशनसिपमा बसेका छन् । धेरैले यसलाई बिहे भन्दैनन् । मैले बिहे भनेँ । हाम्रो बिहे झ्याईँ झ्याईँ बाजा बजाएर भएको पनि होइन । त्यो परम्परागत बिहे थिएन । मनदेखि मानेको बिहे हो । उहाँको सबै सम्पत्ती मेरै नाममा नै थियो । अझैपनि पासपोर्टमा उहाँकै नाम छ ।
अनि डिभोर्स भएको भन्न मिलेन हैन ?
हाम्रो बिहे कानूनी रुपमा भएको भए पो डिभोर्सको कुरा । औपचारिक रुपमा डिभोर्स भएको छैन । मैले उहाँको सबै सम्पत्ति फिर्ता गरिदिएँ । अब केका लागि डिभोर्स ?
अहिले बोलचाल छ कि छैन त ?
म उहाँलाई अझैपनि सम्मान गर्छु । कुनैबेला एउटै छतमुनी बसेर पनि बोलचाल भएन । तर अब त्यस्तो छैन । व्यवसायिक सम्बन्ध छ । झन् राम्रो सम्बन्ध बन्दैछ ।
एउटा उचाईमा पुगेपछि रेखाले छविको साथ छोडेको पनि भन्छन् नी ?
मैले कहाँ साथ छोडेँ ? त्यस्तो कसैले भन्छ भने संकीर्ण सोचको उपज हो । भोलि छविजीलाई कुनै समस्या पर्‍यो भने सहयोग गर्ने पहिलो व्यक्ति रेखा थापा नै हुन्छे ।
दुई वर्षयता धेरै नायिकाको आगमन भयो । उनीहरुको कामलाई कस्तो मानिरहनु भएको छ ?
आगमनको हिसाबले मात्र म अगाडि हो तर उमेरको हिसाबले हामी उस्तै छौं । उनीहरुको काम राम्रो छ । तर अहिले आएकाहरुले नयाँ ट्रेण्ड लिएर आउनुपर्थ्यो, पुरानै फलो गर्नु राम्रो होइन ।
नायिका बन्न कति योग्यता चाहिन्छ ?
नायिका बन्न शिक्षाको आवस्यकता पर्दैन । सामान्य लेखपढ जाने भैहाल्यो नी । कला ठुलो कुरा हो, अध्ययन हैन । तर कलासँगै अध्ययन छ भने झन् राम्रो ।
नेपाली चलचित्रलाई अनावस्यक रुपमा अंग प्रदर्शन गराएको आरोप छ । कसरी हेर्नुहुन्छ ?
कोही सफल के कारणले भएको छ भन्ने कुरा अध्ययन हुन जरुरी छ । रेखा थापा किन सफल भई भन्ने कुरा अध्ययन हुन जरुरी छ । छोटो लुगाले मात्र हिट भएको हो कि मेहनतले हो भन्ने कुरा नयाँ आउने नायिकाहरुले बुझ्नुपर्छ । अंग प्रदर्शन गरेरमात्र त हिट हुँनै सकिदैन । कसैले सफल भइन्छ भनेर दावी गर्छ भनेपनि म मान्दिन ।
बिचमा तपाईँको ब्वायफ्रेन्ड छ भन्ने पनि हल्ला आयो नी ?
म एकदम पारदर्शी मान्छे हो । त्यस्तो भए त म आफै भन्छु नी । त्यो हल्लामात्र हो ।
तपाईँको धेरै नायकसँग व्यवसायिक सम्बन्ध बिग्र्यो भनिन्छ । कारण के हो ?
खै मै पो छुचो हो की ? उनीहरु रेखा थापाको व्यानरमा काम गर्ने रहर देखाउँछन् । आउँछन्, मेरै व्यानरमा चलचित्रमा काम गर्छन्, अनि पछि को हो रेखा थापा भन्दै हिँड्छन् । मलाई नारीलाई डोमिनेट गरेको मन पर्दैन । केटी मान्छेलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ भन्ने मेरो विचार हो । अनि म त्यसबिरुद्ध बोल्छु, सायद अरुलाई मन पर्दैन ।
आर्यन सिग्देलसँग तपाईँको अनस्क्रिन जोडी धेरैले मन पराए । तर अहिले बोलचाल छैन भन्ने सुनिन्छ । फेरी फिल्ममा सँगै देख्न पाइएला ?
उ मेरो निकै नजिकको साथी हो । धेरै मिल्यो भने कहिलेकाहीँ झगडा पनि हुन्छ । कहिलेकाहीँ उ अरुको कुरामा लागेर बहकिन्छ । उसँग मैले फिल्म नै खेल्दिन भन्ने कुरा गलत हो । मैले योसँग खेल्छु, उसँग खेल्दिन कहाँ भन्छु र ?
नेपाल चलचित्र विकास बोर्डमा महिला किन अध्यक्ष नभएका ? तपाईँ अध्यक्ष हुने कुरा पनि थियो नी ?
चलचित्र क्षेत्रमा नलागेका मानिसहरु नै अध्यक्ष भए एकाध बाहेक । चलचित्र क्षेत्रबाट मैले प्रतिनिधित्व गरेर विकास बोर्डमा जान खोज्दा पुरुष चलचित्रकर्मीलाई नै टाउको दुख्दो रहेछ । कतिपय सिनियर महिला कलाकारले पनि कम उमेरको मान्छे भनेर असहयोग गरे । मैले १२/ १३ वर्षदेखि चलचित्र क्षेत्रमा काम गरेर स्पटब्याइ देखि सबै खाले निर्माताको समस्या बुझेको छु । म भन्दा अनुभवी को हुन सक्छ ? ५ वटा फिल्म खेल्ने ६० वर्षको कलाकार अनुभवी रे । १००/ १५० फिल्ममा काम गर्ने अनुभवी नहुने कसरी हुन्छ ? विकास बोर्डमा सक्रिय मान्छे पनि चाहिन्छ । उमेरमा, जोसमा पो मान्छेले काम गर्न सक्छ । नेपालमा बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरुको घर बनाउन पनि दिदैन ।
राजनीतिमा आउने सोच पनि विकास भएको हो ?
अवश्य ! अब चाँडै नै राजनीतिमा आउने सोँच छ । तर त्यसभन्दा पहिले समाजसेवामा लाग्छु । अब गैर सरकारी संस्था (एनजिओ) खोल्दैछु । त्यस एनजिओ मार्फत शिक्षाबाट वञ्चित हुनुपरेका वालवालिका र महिलाको शिक्षाको लागि पहल गर्दैछु । त्यसपछि मेरो राजनीतिक यात्रा सुरु हुन्छ ।
कुनै दिन मन्त्रीमण्डलमै पनि देख्न पाइएला त ?
राजनीति गरेपछि असम्भव भन्न मिलेन नी । (लामो हाँसो)