May 26, 2013

चरम पीडा, अनि उत्पात खुसी


केहीबेर चरम पीडा, अनि उत्पात खुसी
काखमा सातमहिने शिशु लिएर बसमा यात्रा गरिरहेकी आमा निदाइन्, बच्चा एक्कासि बसबाट खस्यो। न आमाले चाल पाइन्, न अन्य यात्रु र सहचालकले। जब आमा ब्युँतिइन्, काखमा बच्चा नदेखेर अत्तालिँदै बसभित्र सबैतिर खोजिन्। हल्लीखल्ली भयो, बच्चा कतै थिएन। बसै फर्काएर बच्चा खोज्न निस्किएका बाबुआमाले जब छोरो सकुशल प्रहरीको काखमा खेलिरहेको पाए, खुसीको सीमै रहेन।

गुडिरहेको बसबाट मध्यरात जंगलबीच खसेको सातमहिने छोरो सकुशल भेटिँदा मित्तल दम्पतीमा व्यक्त गर्नै नसकिने खुसी छायो
सुन्दा आश्चर्य लाग्ने यो बुधबारको घटना हो।
बिहे निम्तो मानेर काठमाडांैबाट बुटवल घर फर्किरहेको विकास र ममता मित्तल दम्पतीलाई एकैदिन चरम पीडा र उस्तै खुसी मिल्यो।
नौबिसेमा खाना खुवाएर गुडेको लु१ख ६९४६ नम्बरको 'रिजर्भ्ड' बसमा मित्तल परिवार र आफन्तमात्र थिए। यात्रु सबै निदाएका थिए। नवलपरासीको दलदले पुग्दा बिहानको ६ बजेको थियो, बस रोकियो। ममता ब्युँतिइन्, हेर्दा काखमा छोरो थिएन।
अत्तालिएकी मित्तलले सबै सिटमुनि खोजिन्। फेला नपरेपछि बस नै फर्काएर सबै सोधखोज गर्दै हिँडे। चितवन दारेचोकस्थित फिस्लिङ–चुम्लिङ जंगलबीच सडकमा मंगलबार राति साढे १२ बजेतिर शिशु खसेको थियो। मुग्लिङतर्फबाट आउँदै गरेको ट्रकका चालकले सडकबीच रुँदै बामे सरिरहेको बालक देखे, गाडीमा राखेर जोगिमारास्थित प्रहरीचौकीको जिम्मा लगाइदिए।
राति नै प्रहरीले आन्तरिक सञ्चारमार्फत प्रहरी कार्यालयहरुमा बच्चा भेटिएको जानकारी गराइसकेको थियो। मुग्लिङ प्रहरीले बच्चा सकुशल रहेको जानकारी गराएपछि मित्तल दम्पती खुसी हुँदै इलाका प्रहरी कार्यालय गजुरी पुग्यो, छोरो सुरक्षाकर्मीको काखमा खेलिरहेको थियो। उनीहरूले प्रहरीलाई धन्यवाद दिए र छोरो जिम्मा लिए।
सडकको बीचमा मध्यरात खसेको बालक सकुशल पाएपछि मित्तल परिवारमा खुसीको सीमा रहेन। आमाको काखबाट सडकमा खसेको शिशु ६ घन्टापछि बाबुआमाको जिम्मा लगाएको गजुरीका प्रहरी निरीक्षक तुलसी भट्टराईले जनाए। आमा निदाएका बेला बच्चा बसको ढोकाबाट खसेको हुन सक्ने प्रहरी अनुमान छ। प्रहरीका अनुसार बच्चाको टाउकोमा सामान्य चोट छ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: