हिंसात्मक द्वन्द्वकालमा माओवादीले घाइते बनाएका र 'क्रस फायर'मा परेकाहरूलाई सरकारी बेवास्ताले झन् आहत बनाएको छ।
“मेरा आँखै अगाडि उनीहरूले शम्भुको टाउको र शरीर भीरबाट फ्याँके” १० दिनमा होस खुलेका नगेन सुनुवार (३९) ले कम्मरको घाउ छोप्दै भने, “मर्यो भनेर मलाई पनि भीरबाट हुत्याइदिएको सम्झ्ना छ, बिउँझ्दा अस्पतालको बेडमा थिएँ।”घटना २३ जेठ २०५९ बिहान १० बजेको हो। झापा धरमपुर–५ का नगेन र छिमेकी शम्भु तोपगाछी गाविसको केरखा बजार गएका थिए। उनीहरूलाई माओवादीले ‘केही गफ गर्नुछ’ भन्दै बजारमाथिको नर्सरीमा लगे, जहाँ थप माओवादी भेटिए।
उनीहरूले केही कुरै नगरी लाठा नभाँच्चिउन्जेल पिटेर हलचल गर्न नसक्ने बनाएपछि नगेन र शम्भुलाई साइकलमा हालेर त्यसको चार घण्टामा दक्षिण इलामको मैनाचुली डाँडा पुर्याए।
सुराकीको बात लगाउँदै दुवै हात डोरीले कसिएका उनीहरूलाई त्यसपछि भीरबाट हाम फाल्न भनियो। “तर, हाम फाल्न नसकेपछि शम्भुलाई खुकुरी दिंदै मलाई काट्न भने, तर उसले मानेन”, नगेन भन्छन्, “अनि २५ वर्ष जतिको युवकले शम्भुलाई निहुरिन लगाएर घाँटी छिनायो।”
माओवादीहरूले पच्चीस ठाउँमा काटेर मर्यो भनी भीरबाट खसालिदिएका नगेनलाई भने तीन दिनपछि सामुदायिक वन हेरालुहरूले पहराको फेदमा भेट्टाए। त्यसपछिको दुई वर्ष उनले धरान, झापा, मोरङ, सुनसरी, काठमाडौं र सिलगुडीका अस्पतालमा बिताए।
यसक्रममा धरमपुरको १६ कट्ठा जमिन र बजारछेउको घर सकियो। शरीर अपाङ्ग भएको छ, हिंडडुल गर्न सहारा चाहिन्छ। दुखाइ कम गर्ने औषधि खान पैसाले पुग्दैन। नगेनको घुच्चुकमा खुकुरीले काटेका दाग छन्। पेटमा आठइञ्च लामो खत छ। घाँटी, कम्मर, तिघ्रा, पिंडुला, हातपाखुरा जहींतहीं चोटैचोट छन्। कम्मरको घाउ ११ वर्षमा पनि निको भएको छैन।
उनी अहिले मेचीनगरपालिका–१० को पालिया खोलाको सुकुम्बासी बस्तीमा बस्छन्। दुई छोराछोरीको पढाइ ससुरालीले हेरिदिएका छन्। चामल र नुनभुटुन इष्टमित्र–आफन्तहरूले जुटाइदिइरहेका छन्। रकम चेम्जोङ शान्ति मन्त्री हुँदा मन्त्रालयबाट पाएको रु.१ लाख ८० हजार ऋण तिर्दैमा सकियो। “मैले न न्याय पाएँ न त उपचारमा सहयोग”, नगेन भन्छन्।
राजगढ–४ मा अर्का घाइते मोहम्मद अपुताली (४५) शनिबारे हाटमा खसी काटेर जेनतेन १३ जनाको परिवार पालिरहेका छन्। उनको दायाँ कञ्चटमा माओवादीको दुइटा गोली अझै छ।
“तेस्रो गोली छातीमै हानेका थिए, तर कोखामा लागेर बाहिरिएछ”, अपुताली भन्छन्, “बाँच्न त बाँचें, तर तीन महीना अस्पताल बस्दा दुई लाख ऋणमा डुबेको छु।”
सुराकीको आरोपमा ९ माघ २०६० को बिहान अपुतालीसँगै लगिएका उनका छिमेकी खिरन राजवंशीले भने माओवादीको गोली थेग्न सकेनन्। खिरनलाई मारेपछि आफूलाई लगालग गोली हानेर माओवादीहरू भागेको अपुताली सम्झ्न्छन्।
त्यसपछि पनि माओवादीले गाउँमा बस्न नदिंदा उनी दुई वर्ष बिहारको दिघलबैंक गएर पेट पाले। जीउभित्र गोली भएकाले जाडोमा शरीर दुख्छ, गर्मीमा पोल्छ। “बाबुआमा र जहान छोराछोरी पाल्न रुँदै बाँचेको छु”, अपुताली भन्छन्, “कमसेकम सरकारले उपचार त गरिदिए हुन्थ्यो!”
जिल्ला शान्ति समिति झापासँग जिल्लामा ३३ जना द्वन्द्वकालीन अपाङ्ग र १६ जना घाइते भएको विवरण छ। उनीहरूमध्ये माओवादी केन्द्रीय सदस्य धर्मशिला चापागाई, कोचिला राज्य समिति सदस्य छत्र तिम्सिनासहित ९ जनाले राज्यबाट राहत बुझेका छन्। बाँकी घाइते र अपाङ्गले कहिले राहत पाउने हुन्, समितिलाई नै थाहा छैन।
शरणार्थीलाई राहत दिन मिल्दैन!
नरबहादुर मगर (४९) भुटानी शरणार्थी हुन्। १ वैशाख २०६३ को दिउँसो १ बजे उनी बेलडाँगी शिविरछेउको आफ्नै छाप्रे होटलमा थिए। त्यहीबेला सशस्त्र प्रहरीका एकजना घुमुवा जवानलाई माओवादीले बेलडाँगी बजारमा गोली हाने।
त्यसपछि दोहोरो गोली चल्यो। केटाकेटीलाई खाटमुनि लुकाउँदा लुकाउँदै नरबहादुरको दायाँ छातीमा पनि गोली लाग्यो, जुन उनले अझै बोकिरहेका छन्।
कलेजो र फोक्सोको बीचमा रहेको गोली झिक्ने सघन शल्यक्रिया गर्दा रु.१० लाख खर्च हुने चिकित्सकले बताएका छन्। राष्ट्रसंघीय शरणार्थी आयोग युएनएचसीआरले तौलेर दिएको अन्नपानीमा निर्भर नरबहादुर त्यत्रो पैसा जुटाउने अवस्थामै छैनन्। दुखाइ कम गर्न दैनिक रु.७५ को औषधि चाहिने उनी त्यति पैसा नभएको दिन लोकल रक्सी पिएर गोलीको डाह भुल्ने कोशिश गर्छन्।
उनी भन्छन्, “नेपाल सरकारले शरणार्थीलाई राहत दिन नमिल्ने बतायो, युएनएचसीआर गोलीको उपचार गर्ने म्याण्डेट छैन भन्छ।”
गोपाल गडतौला, झापा (HImal Khabar)
0 सबै कमेन्टहरु हेर्नुहोस्:
Post a Comment