Mar 29, 2013

भर्खरै एसएलसी दिएर बसेकी एक किशोरीको सामूहिक बलात्कार

काभ्रे, मेथिनकोट-८, काफ्लेथोकमा मंगलबार राति पानी खाने बहानामा घरभित्र छिरेको हतियारधारी समूहले भर्खरै एसएलसी दिएर बसेकी एक किशोरीको सामूहिक बलात्कार गरेका छन ।

‘बाबु छोरी खाना खाँदै थियौं। पानी दिनुस् भन्दै भित्र छिरेको व्यक्तिलाई छोरीले उठेर पानी दिई। त्यसपछि हुरुर्र घरभित्र छिरेका उनीहरूले मेरो गर्दनमा खुकुरी तेर्स्याएर छोरीलाई माथिल्लो तल्लामा लगे,' पीडितका बाबुको बयानलाई उद्धृत गर्दै जिप्रका, अपराध अनुसन्धान फाँटका प्रहरी नायब निरीक्षक नीमाबहादुर लामाले जानकारी दिए।

उक्त समूहमा ८ देखि ९ जना रहेको हुनसक्ने प्रहरीले जनाएको छ। ‘समूहका सबैले अनुहार छोपेका हुँदा पीडित परिवारले चिन्न नसकेका रहेछन्,' लामाले भने। बाबुलाई हातखुट्टा बाँधेर भान्छामै लडाएपछि चारजनाले किशोरीलाई माथिल्लो तल्लामा पालैपालो बलात्कार गरेको पीडित किशोरीले प्रहरीमा बयान दिएकी छन्।

किशोरीको बलात्कारपछि उक्त समूहले बाबुका साथमा रहेको मोबाइल सेट र ६ हजार रुपैंयाँसमेत लुटेर लगेको प्रहरीले जानकारी दिएको छ। अघिल्लो रातको घटना भए पनि बाबुछोरीले डरले बुधबार अपराह्नसम्म प्रहरीलाई खबर गर्न नसकेको बताएका छन्। ‘उनीहरूले घटनाबाहिर ल्याएमा मारिदिने धम्की दिएको हुँदा समयमै खबर गर्न सकेनौं,' किशोरीका बाबुले प्रहरीलाई भनेका छन्।

काभ्रे प्रहरीले किशोरीको स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ।