Apr 6, 2013

जेठ १३ गते स्ववियू चुनाव हुने : २८ वर्ष नाघेको विद्यार्थी उमेद्वार बन्न नपाउने

tuलामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आउँदो जेठ १३ गते हुने भएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको शनिबार बिहान बसेको बैठकले चुनावको मिति घोषणा गरेको हो । मिति घोषणा भएपनि कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अनसन पनि स्थगित भएको छ ।
यसअघि शुक्रबार बसेको त्रिभुवन विश्वविद्यालयको विशेषसभाले मिश्रति प्रणालीबाट चुनाव गर्ने निर्णय गरेको थियो । विशेष सभाले चुनावको वातावरण तय गरेपछि मिति घोषणा भएको हो । स्ववियु चुनाव हुँदा ५० प्रतिशत प्रत्यक्ष र ५० प्रतिशत समानुपतिक प्रणालीबाट पदाधिकारी चुनिनेछन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष सहित ५० प्रतिशत सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष र सहसचिव सहित ५० प्रतिशत सदस्य समानुपातिकबाट चुनिनेछन् ।
२८ वर्ष नाघेको विद्यार्थी उमेद्वार बन्न नपाउने
स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा २८ वर्ष नाघेको विद्यार्थीले उमेद्वार बन्न नपाउने नयाँ नियमावली बनेको छ । शुक्रबार त्रिवि सभाले पारित गरेको स्ववियु चुनावसम्बन्धी नयाँ नियमावलीमा संविधानजसभामा जस्तै आधा प्रत्यक्ष र आधा समानुपातिक निर्वाचन प्रणाली अपनाइने भएको छ ।
यसअघि जति वर्ष उमेर पुगेको विद्यार्थीले पनि स्ववियू चुनावमा भाग लिन पाउने व्यवस्था थियो । तर, पुरानो नियमावलीलाई संशोधन गर्दै २८ वर्षभन्दा कम उमेरको नियमित अध्ययनरत विद्यार्थीमात्रै उमेद्वार बन्न पाउने नयाँ व्यवस्था गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष एवं त्रिविका सिनेट सदस्यले अनलाइनखबरलाई बताउनुभयो । तर, २८ वर्षे उमेर हदको कार्यान्वयन यसपालिको निर्वाचनमा लागू नहुने र ०७१सालपछि मात्रै कार्यान्वयन हुने शर्माले बताउनुभएको छ ।
नयाँ नियमावलीअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने भएको छ भने उपाध्यक्ष र सहसचिव पदका लागि समानुपातिक प्रणाली अपनाइने छ । त्यसैगरी सदस्यहरुमा ५०/५० प्रतिशत समानपातिक र प्रत्यक्ष प्रणाली अपनाइने भएको छ । स्ववियूमा विद्यार्थी संख्याका आधार ११ देखि २१ जनासम्म सदस्य रहने व्यवस्था छ ।