Apr 8, 2013

एटिएम कार्ड चलाउनेहरु साबधान !!

आधुनिक ठगीमा सक्रिय समूहले भारतमा नेपाली बैंकका ग्राहकको नक्कली एटिएम कार्ड बनाएर रकम झिक्ने गरेको खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानले बैंककबाट प्लास्टिकको कार्ड मगाई भारतमा मेसिनबाट नेपाली बैंकका चोरिएका पिन (व्यक्तिगत पहिचान नम्बर) राखेर रकम निकाल्ने गरेको तथ्य खुलस्त पारेको हो।
'ठगीमा सक्रिय समूहले बैंककबाट एटिएमको प्लास्टिक कार्ड मगाउने गरेको अनुसन्धानमा देखियो,' ब्युरो प्रमुख केशबहादुर शाहीले भने, 'त्यस्तो कार्डमा आवश्यक डाटा भारतमा राखेर प्रयोग हुने गरेको छ।'

अधिकांश बैंक र वित्तीय संस्थाले आफ्ना ग्राहकलाई सहज बैंकिङ सुविधा दिन एटिएम कार्ड प्रयोगमा ल्याएका छन्। तथ्यांक अनुसार नेपालमा एटिएम प्रयोगकर्ताको संख्या करिब २६ लाख छ।
नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएम प्रयोग गरेर एक समूहले १६ जना ग्राहकको खाताबाट एक लाख ८० हजार रुपैयाँ निकालेको देखिएपछि बैंक र प्रहरीको संयुक्त अनुसन्धानबाट तीनजना भारतीय पक्राउ परेका थिए।
भारत नैनितालका सुरेशसिंह विष्ट, मोहनसिंह विष्ट र चन्द्रसिंह विष्ट दुई साता अगाडि महेन्द्रनगरमा पैसा निकाल्ने क्रममा पक्राउ परेका थिए। उनीहरुबाट आएको जानकारी र अनुसन्धानबाट संकलित तथ्यको आधारमा नेपाली बैंकका नक्कली एटिएम बनाएर ग्राहकको रकम झिक्न भारत र नेपालका संगठित समूह सक्रिय रहेको निष्कर्ष प्रहरीले निकालेको हो।
इन्भेस्टमेन्ट बैंक अधिकारीका अनुसार मध्यफागुनमा उक्त बैंकको एटिएमबाट भारतको नयाँ दिल्लीमा १० हजार भारतीय रुपैयाँ निकालिएपछि ग्राहकको पिन कोड चुहिएको खुलेको थियो।
सोही कार्डको निगरानी गर्दा विभिन्न २३ ठाउँमा प्रयोग भएको र उनीहरुले एकै युनिटमा २३ वटा कार्डसम्म प्रयोग भएको खुलेपछि बैंक अधिकारीले ब्युरोलाई जानकारी गराएका थिए। कार्ड दुरुपयोग भएपछि बैंकले उसको कार्डबाट भारतमा निकाल्न सकिने पैसाको मात्रा घटाएको थियो। त्यसपछि गिरोहका सदस्य नैनितालबाट महेन्द्रनगर आएर पैसा तान्न खोज्दा प्रहरीको फन्दामा परेका हुन्।
ब्युरो अधिकारीका अनुसार सोही समूहको साथमा इन्भेस्टमेन्ट बैंकबाहेक हिमालयन र लक्ष्मी बैंकको एटिएम कार्डसमेत फेला परेको थियो। इन्भेस्टमेन्ट बैंकको खाताबाट रकम निकाल्न उनीहरुले नेपालमा नबिल, सिद्धार्थ र सनराइज बैंकको एटिएम प्रयोग भएको ब्युरो प्रमुख शाहीले बताए।
पक्राउ परेकाहरु संगठित समूहका सदस्य रहेको प्रहरी अनुमान छ। नक्कली कार्ड भारतको दिल्ली र हल्दानी इलाकामा समेत प्रयोग भएको र नक्कली कार्ड भारतका सञ्जु नामका व्यक्तिले बिक्री गर्ने गरेको प्रहरी निष्कर्ष छ। पक्राउ परेकाले सञ्जुबाट एउटा २० हजार भारतीय रुपैयाँमा किन्ने गरेको बयान दिएका छन्।
सञ्जुलाई नेपाली नागरिक सुरज गुरुङले समेत सहयोग गरेको प्रहरी निष्कर्ष छ। पक्राउ अभियुक्तको बयानका आधारमा प्रहरीले दुवैको स्केच बनाए पनि पूर्ण परिचय र विवरण भने फेला पार्न सकेको छैन। नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकको खाताबाट हराएको रकम खोज्ने क्रममा सो अपराधमा सक्रिय समूहले कतिपय पिन बैंकका पूर्व कर्मचारीबाट र कतिपय एटिएम नेटवर्कबाट फेला पार्ने गरेकोसमेत खुलेको छ।
हिमालयन बैंक ग्राहकको खाताबाट यस्तै नक्कली एटिएम कार्ड प्रयोग गरी रकम झिकेको घटनाको महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ। चार वर्षदेखि नै बैंकका ग्राहकको खाताबाट रकम हराउन थाले पनि पछिल्लो समय मात्र यसको रहस्य खुलेको हो। बैंक ग्राहकका खाताबाट पाँच करोड ८० लाख रुपैयाँभन्दा बढी रकम हराएपछि खोजी गर्दा अनिजभक्त सुवालले रकम निकालेको खुलेको थियो।
बैंकले घटना सार्वजनिक हुँदा साख घट्ने भन्दै सुवाललाई आफैंले खोजेर आन्तरिक रुपमै रकम असुली प्रयास गर्योा। सुवाल तयार भएपछि बैंकका अधिकारी राजी भए। तर, उनी पुनः फरार भएर ३३ लाख भारु र ३० लाख नेपाली रुपैयाँ झिकेपछिमात्र बैंकले प्रहरीलाई खबर गरेको थियो।
उनले सन् २००८ बाटै रकम निकाल्न थालेको अनुसन्धानले देखाएको ब्युरोका डिआइजी शाहीले बताए। बैंकको आइटी विभागमा काम गर्ने उनी अहिले फरार छन्। अन्य बैंकको पिन कोड चोरी गर्ने र सोही आधारमा नक्कली एटिएम बनाउने काममा उनी नै संलग्न रहेको प्रहरीको आशंका छ।
एक वर्षअघि नबिल बैंकका पूर्व कर्मचारीले नक्कली एटिएम कार्ड प्रयोग गरी ग्राहकको खाताबाट रकम निकालेका थिए। सो काण्डमा पोखराका सविन रिजाल र रितेश रिजाललाई अपराध महाशाखाले पक्रेको थियो।
उनीहरूका साथबाट प्रहरीले नक्कली एटिएम कार्ड, ल्यापटप र एटिएमबाट निकालिएको एक लाखभन्दा बढी रकम फेला पारेको थियो। बैंकको कार्ड शाखामा काम गर्दा उनले ग्राहकको पिन संकलन गरी जागिर छाडेपछि त्यसैका आधारमा नक्कली कार्ड बनाएका थिए।
इन्भेस्टमेन्ट बैंकको पिन कसरी बाहिरियो, त्यो भने अझै रहस्यमै छ। २०६९ वैशाख १९ र २० गते प्रयोग भएको एटिएम मेसिनकै पिन चोरिएकाले प्रयोग भएको नेटवर्कबाटै ती नम्बर चुहिएको हुनसक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको आशंका छ। 'कसै न कसैबाट बदमासी भएकै छ,' ब्युरोमा भेटिएका उनले भने, 'तर, यसरी नै बाहिरियो भन्ने खुलिसकेको छैन।'
पिन चोरेरमात्र होइन, ई-बैंकिङबाट समेत सूचना चोर्न फिसिङ (उस्तै प्रकृतिको नक्कली पेज बनाएर जानकारी बटुल्ने) गर्ने समूह पनि सक्रिय देखिएका छन्। नबिलको ई-बैंकिङको फिसिङ पेज बनाएर ग्राहकको गोप्य जानकारी संकलन गरी रकम झिक्ने १७ वर्षका नरेश लाम्गादेलाई अपराध महाशाखाले पक्रेको थियो।
ठगी अब दक्षिण एसियातिर
विकसित देशमा नक्कली डेबिट र क्रेडिट कार्ड बनाएर ठगी हुनु नौलो अपराध हैन। नेपालजस्ता कम विकसित देशमा भने अझै यो नौलो अपराधको सूचीमै छ। अनुसन्धानमा संलग्न अधिकारी भने आधुनिक बैंकिङ र प्लास्टिक मनी (कार्ड)को बढ्दो प्रयोगबाट यो अपराध निकै बढ्ने निष्कर्षमा पुगिसकेका छन्।
'विकसित देशले चेतेर कानुन कडा बनाइसकेका छन्,' ब्युरो प्रमुख शाहीले भने, 'दक्षिण एसियामा भने अझै कानुन कमजोर भएकाले समस्या बढ्ने निश्चित छ।'
यस्तो ठगीमा संलग्नलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६३ अनुसार एक वर्ष कैद र बिगो भए बिगो भराएर बिगोबराबर जरिवाना हुन्छ। डिआइजी शाही यो सजाय कम भएको बताउँछन्।