Mar 12, 2013

नेपाली ब्यबसायीको हत्या गर्ने लाई १९ वर्ष जेल

जापानको ओशाकामा रेष्टुरेण्ट ब्यबसाय गरिरहेका एक नेपालीको हत्या गर्ने जापानीलाई त्यहाँको अदालतले १९ वर्ष जेल सजाय सुनाएको छ ।
जापानी समाचार समिति क्योदोका अनुसार हत्यामा सघाउने उसकी केटी साथीलाई पनि नौ वर्षको जेल सजाय सुनाइएको छ ।
धादिङ जिल्ला घर भई ओशामा ब्यबसाय गरिरहेका ४२ वषर्ीय नेपाली नागरिक विष्णुप्रसाद धमलाको हत्याको आरोपमा जापानी नागरिक हिरोकी सिराहिसी र उनका महिला साथी मियोको सिराइसीलाई जापानको ओशाका जिल्ला अदालतले सो सजाय सुनाएको हो ।
सन् २०१२ जनवरी १२ तारिख राती रेष्टुरेण्ट बन्द गरेर निवासतर्फ फर्किरहेका बेला दुई जना जापानी आक्रमणकारीहरुले धमला र उनका सहयोगीहरुलाई आक्रमण गरेका थिए । गुहार माग्दै भुईँमै ढलेका धमलालाई उनीहरुले साइकलले हानेर हत्या गरेको भिडियो फुटेज सीसीटीभीमा कैद गरिएको थियो । सोही फुटेजका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो ।
सरकारी वकिलले मुख्य अभियुक्तलाई १८ बर्ष जेल सजायँको माग गरेको भएपनि न्यायाधीशले एक बर्ष थपेर १९ बर्ष तोकेका छन । हत्यामा सहयोगीको भूमिका खेलेकी उनकी प्रेमिकालाई कम सजायँ तोकिएको जापानी संचारमाध्यमहरुले जनाएका छन । अदालतले कुटपीटका कारण उनको ज्यान गएको ठहर गरेको बताइएको छ ।
जापानी महिलासँग घरजम गरी बसेका धमलाको शवलाई हत्या लगत्तै नेपाल ल्याएर अत्येष्टी गरिएको थियो ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: