विसं २००६ साल जेठ १८ गते पाल्पा जिल्लाको पोखराथोक- ६ मा जन्मनुभएका ६३ वर्षीय खिलराज रेग्मी नेपालको अन्तरिम चुनाबी मन्त्री परिषद्को अध्यक्ष (प्रधानमन्त्री) बन्ने भाग्यमानी न्यायमूर्ति ठहरिनुभएको छ । रेग्मी नेपालको ३६ औं प्रधानमन्त्री एवं सरकार चलाउने पहिलो प्रधानन्यायाधीशका रुपमा इतिहासमा आफ्नो नाममा लेखाउन लगभग सफल हुनुभएको छ । यद्यपि उहाँको पद ‘प्रधानमन्त्री’ नभई अध्यक्षमात्रै रहने छ । रेग्मीले बिहीवार बिहान राष्ट्रपति रामबरण यादवबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
पत्नी
शान्ता र तीन सन्तानका अभिभावक रेग्मीले भारतको उत्तरप्रदेशबाट सन् १९६६
आइए उत्तीर्ण गर्नुभएको हो । त्यसपछि रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट
सन् १९६८ मा बीए, १९७० मा बीएल र १९७२ मा मानविकी संकायमा एमएसम्मको अध्ययन
पूरा गर्नुभएको छ । रेग्मीको घर प्रवचनमार्ग, काठमाडौंमा रहेको छ । उहाँको
घर नं १८२/१५ हो । प्रधानन्यायाधीश भएपछि दुईवर्ष अघिदेखि उहाँ बालुवाटार
बस्दै आउनुभएको छ ।
नेपाली अंग्रेजी र हिन्दी भाषामा दक्ष
रेग्मीले सन् १९७२ मा शाखा अधिकृतबाट सरकारी सेवा प्रारम्भ गर्नुभएको हो ।
न्यायसेवा प्रवेशको दुईवर्षपछि सन् १९७४ मा उहाँ जिल्ला न्यायाधीश बन्नुभयो
भने त्यसको ११ वर्षपछि सन् १९८५ मा सर्वोच्च अदालतमा राजपत्रांकित प्रथम
श्रेणीको उप-रजिष्ट्रार बन्नुभयो । ६ वर्ष उप-रजिष्ट्रारमा काम गरेपछि सन्
१९९१ बाट उहाँ पुनरावेदन अदालतको न्यायाधीश बन्नुभयो र त्यसको पाँचवर्षपछि
१९९६ देखि पुनरावेदन अदालतको मुख्य न्यायाधीशको जिम्मेवारी सम्हाल्नुभयो ।
सन् २००३ देखि सर्वोच्च अदालतमा न्यायाधीश
बन्नुभएका रेग्मी ८ वर्षपछि सन् २०११ मा प्रधानन्यायाधीश बन्नुभएको हो ।
प्रधानन्यायाधीशको कार्यकाल सकिन लगभग २ वर्ष बाँकी छ ।
सन् १९८१ मा गोरखा दक्षिण बाहु चौथोबाट
सुशोभित हुनुभएका रेग्मीले सन् १९९० मा गोरखा दक्षिण बाहु तेस्रो र सन्
२००० मा त्रिशक्तिपट्ट तेस्रो पदक प्राप्त गर्नुभएको छ । सन् २०१२ मा
उहाँले इन्टरनेशनल जुरिस अवार्ड प्राप्त गर्नुभएको छ ।
अन्तरिम चुनावी मन्त्री परिषद्का अध्यक्ष
बन्ने सौभाग्य पाउनुभएका रेग्मीले अमेरिका, क्यानडा, ब्राजिल, इटाली,
बेल्जियम, फ्रान्स, नेदरल्याण्ड, स्वीटजरल्याण्ड, फिनल्याण्ड, डेनमार्क,
स्वीडेन, जापान, दक्षिण कोरिया, इन्डिोनेसिया, सिंगापुर, मलेसिया,
थाइल्याण्ड, भुटान र भारतको भ्रमण गर्नुभएको छ । तर, उहाँले अहिलेसम्म
छिमेकी चीनको भ्रमण गर्न भ्याउनुभएको छैन । यद्यपि उहाँ हंगकंगसम्म
पुग्नुभएको छ ।
0 सबै कमेन्टहरु हेर्नुहोस्:
Post a Comment