Mar 17, 2013

नेपाल टेलिकमले ग्राहकका गुनासो सुन्ने

NT logo नेपाल टेलिकमले ग्राहकका गुनासो सुन्न अध्याधुनिक ग्राहक सेवा केन्द्र खोल्ने भएको छ ।
सेवा अबरुद्ध हुँदा पनि समयमै गुनासो सुन्ने संयन्त्र नबनाएको भन्दै उपभोक्ता अधिकारकर्मीले चर्को आलोचना गरिरहेका बेला टेलिकमले सवैमाध्यमबाट गुनासो सुन्ने संयन्त्र बनाउन लागेको हो ।
आगामी भाद्रबाट सुरु हुन लागेका यी सेवा केन्द्रमा तपाईले इमेल, टेलिफोन, एसएमएस, फ्याक्स, च्याट र सामाजिक संजालका माध्यमबाट पनि गुनासो पठाउन सक्नुहुनेछ । यी गुनासोलाई टेलिकम कर्मचारीहरुले एकीकृत सफ्टवेयरमा फाइल गरि कार्यन्वयनका लागि तिब्रता दिनेछन ।
टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले भन्नुभयो- ‘ग्राहकले हाम्रा जुनसुकै सेवाबारे जुनसुकै माध्यमबाट पनि गुनासो गर्न सक्नुहुनेछ ।’ अहिले टेलिकमले १९८ नम्बरमार्फत एडीएसएल र ल्याण्डलाइनको गुनासो र १४९८ मार्फत मोबाइल सेवाको गुनासो सुन्ने ब्यबस्था गरेको भएपनि कार्यन्वयन भने निकै ढिलासुस्ती हुने गरेको छ ।
करिव ५० लाख लाइन जीएसएम मोवाइल र २० लाख जति आईपी सीडीएमए बितरण गर्न लागेको टेलिकमले नयाँ बितरण गर्न लागिएका सेवालाई समेत लक्षित गर्दै यस्ता सेवाकेन्द्र संचालनमा ल्याउन लागेको हो ।