Mar 27, 2013

इराकको हिंसामा एक लाख १२ हजारको मृत्यु

बग्दाद(इराक), ४ चैत । इराकमा सन् २००३ मा सद्दाम हुसेनलाई अपदस्थ गरेयता अर्थात् गत एक दशकभित्र भएको हिंसामा परी कम्तीमा एक लाख १२ हजार सर्वसाधरणको मृत्यु भएको समाचारमा जनाइएको छ ।
यद्यपि बेलायतसँग आबद्ध इराक मृतक गणना समूह(आइविसी) का अनुसार एक दशकमा यस द्वन्द्वमा लडाईमा संलग्न व्यक्तिलगायत नागरिक हताहति गणना गर्दा एक लाख ७४ हजार रहेका छन् । सन् २००३ मार्च २० देखि हालसम्म नागरिक हताहति एक लाख १२ हजार र एक लाख २२ हजार ४५८ बीचमा रहेको जनाइएको आइबिसीले जनाएको छ । 
आइबिसीका अनुसार यी वर्षहरूमा बग्दाद सबभन्दाबढी रक्तपातपूर्ण क्षेत्रको रूपमा रहेको छ । सो नागरिक हताहतिमा ४८ प्रतिशत सन् २००६ देखि २००८ सम्म भएको पनि जनाइएको छ । सन् २००३ देखि अमेरिकाले इराकमाथि हस्तक्षेप गरेको थियो । त्यसैगरी सन् २०११ अमेरिकी सैनिक फिर्ता भएपछि त्यस समयदेखि हालसम्म चार हजार ८०४ सर्वसाधारणले ज्यान गुमाइसकेका जनाइएको छ । इराकमा बग्दादपछि द्वन्द्वग्रस्त क्षेत्र उत्तरी र पश्चिमीप्रान्तहरू रहेका जनाइएको छ । सुनी मुसलमान समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा बढी हिंसाले जरा गाडेको समाचारमा उल्लेख छ ।