-छुरिम शेर्पा, पर्वतारोही
सन् ०११ मे महिनाको पहिलो साता, सगरमाथाको बेसक्याम्पमा थिएँ । मेरो उद्देश्य अरू सामान्य हिमाल आरोहीझैं सगरमाथाको चुचुरो एकपटक चुमेर फर्किने मात्रै थिएन । विश्वको सर्वोच्च उचाइ ८ हजार ८ सय ४८ मिटरको हिमचुचुरो मेरो लक्ष्य पक्कै थियो । त्यो अग्लो चुचुरोसँग जीवनको फरक पहिचान स्थापित गराउने अठोट पनि जोडिएको थियो । हुुन त जीवन बाजी राखेर हिँडेको यात्रामा लक्ष्य जतिबेला पनि तुहिन सक्छ, थाहा थियो मलाई । ‘एक हप्तामा दुईपटक सगरमाथा पुगेरै छोड्छु’, मनको डर अनि अगाडिको चुनौतीलाई सामान्य सम्झँदै अठोट भने गरिरहन्थेँ पटकपटक । वि.सं. ०५० सालमा नेपाली चेली पासाङल्हामुले सगरमाथा शिखर चुमे पनि त्यो सफलताको खुसी सशरीर देशवासीसँग बाँड्न नपाएको जानकारी कक्षा ५ मा पढ्दै पाएकी थिएँ । त्यतिबेलै मलाई सगरमाथाको उचाइले तानिसकेको थियो । मे १ तारिकमा सगरमाथाको आधारशिविर पुग्दा २३ वर्षअघि बुनेको सपनाको यात्रा तय भएकोमा मनमनै खुसी पनि थिएँ । यद्यपि, यात्राको सफलता/असफलता बाँकी नै थियो । हिमाली वातावरण अनुकूल बनाउनका लागि केही दिन त्यहीँ बस्नुपर्ने भयो ।
अन्तत: पहिलो यात्रा तय भयो, सर्वोच्च शिखरको । सगरमाथा पुग्न बेसक्याम्पपछि साउथ कोलसहित पाँचवटा चरण पार गर्नुपर्छ । क्याम्प एकदेखि चारसम्म चारवटा क्याम्प हुन्छन् ।
शिखरमा पुग्ने अन्तिम चरण भने साउथ कोल हुँदै गरिन्छ । अहिले सगरमाथा चढ्दाको कठिन यात्रा सम्झिँदा रोमाञ्चक खेलझैँ लाग्छ । आरोहण प्रारम्भ गरेको पहिलो दिन क्याम्प १ मा गएर बसेँ । भोलिपल्ट फेरि बेसक्याम्प नै फर्किएँ । अर्को दिन बेसक्याम्पबाट सिधै क्याम्प दुई पुगेर बसेँ । फेरि, बेसक्याम्प फकिएँ । अर्को दिन फेरि क्याम्प दुईमै गएँ । हाइट बढ्दै जाँदा ‘एक्लामटाइज’ गर्न जरुरी हुने भएकाले अलि अग्लोमा पुग्दै फर्किंदै गरेको थिएँ ।
पहिलो यात्रामा पाँच जनाको समूह थियो हाम्रो । क्याम्प दुईबाट तीनमा गएर एक दिन बस्यौँ । अर्को दिन क्याम्प चारमा नबसी साउथ कोल पुगेर सबमिट गरेका थियौँ । क्याम्प तीनबाट चारमा पुगेर सुप खाएर एकैछिन आराम गरियो, अनि त्यही दिन साउथ कोल पुगियो र रातिको ९ बजे सबमिटका लागि अघि बढियो । एक भारतीय केटीसहित हामी पाँचै जना मे १२ मा चुचुरो पुग्न सफल भयौँ ।
मे १२ को आरोहण सफल हुँदा मन पूरै हर्षित थिएन । अनुहारमा हर्षका केही प्रतिशत रेखा मात्र कोर्न सकेँ । सगरमाथाको चुचुरोबाट देखिएको दृश्यबाट जति रोमाञ्चित भएँ, त्योभन्दा बढी जिम्मेवारी थपिएको अनुभूति हुँदै थियो । लगत्तै अर्को आरोहण गरेर नेपालका नाममा कीर्ति लेखाउने जिम्मेवारी । त्यसका लागि सबैभन्दा पहिले त शरीरलाई सुरक्षित बेसक्याम्पमा पुर्याउनु थियो । पहिलो सबमिटपछि साउथ कोलमा आएर मे १२ मा बसेँ । भोलिपल्ट ओर्लने क्रम जारी रह्यो । १३ तारिखमा क्याम्प दुईमा फर्किएँ र त्यहीँ आराम गरेँ । १४ मा बेसक्याम्प आइपुगेँ ।
दुई दिन बेसक्याम्पमा आराम गरेपछि १७ तारिखमा पुन: दोस्रो आरोहणका लागि तयार भइसकेको थिएँ, फिजिकल्ली र मेन्टल्ली पनि । यसपटक मसँग सहयोगी एक शेर्पा मात्रै थिए । मे १७ मा क्याम्प दुईमा गएर बसियो र १८ मा क्याम्प तीन–चारमा केही क्षण आराम गर्दै त्यसै दिन राति ११ बजे साउथ कोलबाट दोस्रो सबमिटका लागि गएँ । मे १९ तारिखमा मेरो ५ कक्षा पढ्दाको अठोटले सफलता पायो । दोस्रो पटक शिखरमा पुग्दा वातावरण पनि खुलेको थियो । लाग्यो– मेरो सफलतामा हिउँका यी कणकण खुसियाली मनाइरहेका छन् । अझ सम्झिएँ– ‘ओहो, मेरा आमाबुबा, दाजुभाइ, साथीहरूसँगै यो खुसीमा अंकमाल गर्न पाएको भए …..†’ सगरमाथाको सर्वोच्च उचाइलाई अंकमाल गरेर खुसीयाली मनाएँ । केही समय फोटो खिचेपछि फेरि बेसक्याम्पतर्फ ओरालो लागेँ । अन्तत: विश्वमै पहिलोपटक एकै साता दुईपटक सर्वोच्च शिखरकोसफल आरोहण गरेर कीर्तिमान राखेँ ।
कञ्चनजंघाको काखैमा छ ताप्लेजुङको धुन्सा गाउँ । म त्यही गाउँमा जन्मिएँ, २९ वर्षअघि । त्यही हिमाली वातावरणमा हुर्किदै गएँ । जन्मथलो भए पनि मलाई बाल्यकालमा कञ्चनजंघा हिमालको विशेषताबारे थाहा थिएन । पछि मात्रै थाहा पाएँ, मेरो गाउँबाट तीन दिनको यात्रापछि कञ्चनजंघा पुगिँदो रहेछ । कहिलेकाहीँ फाट्टफुट्ट पुग्ने गोरा छाला भएका अंग्रेजी बोल्ने मान्छेहरू कञ्चनजंघा हेर्न आएका पर्यटक रहेछन् भन्ने पछि मात्रै थाहा पाएँ। त्यो पनि बुबाआमाले जीवन गुजार्न चलाएको होटलमा सघाउन बस्दा । म परिवारकी काइँली छोरी । घरको आर्थिक अवस्था कमजोर भएकाले आठ कक्षामाथि पढ्ने मौका पाइनँ । बिहान–बेलुकाको छाक टार्न धौधौ भएका बेला बुबाआमाले पनि स्कुल पढ्न नगएकोमा धेरै दु:खमनाउ गर्नुभएन सायद । गाउँमा आठ कक्षामाथि पढ्ने स्कुल पनि थिएन । काठमाडौं वा ताप्लेजुङको सदरमुकाममा बहालमा राखेर पढाउन बुबाआमाको आर्थिक हैसियतले भ्याउँदैनथ्यो । त्यसैले आठ कक्षाभन्दा माथि पढ्छु भनेर जिद्दी पनि गरिनँ ।
बाल्यकालदेखि नै अलि भिन्न काम गर्न रुचाउँथँे । एकपटक कञ्चनजंघा हेर्न गएका विदेशीले हाम्रो गाउँमा हेलिकोप्टर ल्यान्ड गरेका थिए । उनीहरू खाजा खान हामै्र होटलमा आए । सोध्दा थाहा भयो, उनीहरू आकाशबाट कञ्चनजंघा हेर्न आएका रहेछन् । मलाई पनि आफ्नो ठाउँमा रहेको हिमाल हेर्ने रहर जाग्यो । उनीहरूसँग मलाई पनि लैजान अनुरोध गरेँ । मेरो चाहना देखेर विदेशीहरू सहमत भए । त्यति बेला १६ वर्षकी थिएँ । आकाशबाट १५ मिनेटसम्म उडेर हिमालको मनोरम दृश्य अवलोकन गर्दा मलाई लागेको थियो, सगरमाथाकै चुचुरो हेर्न पाए कस्तो होला π
सन् ०१० मा काठमाडौंमा दिदीको घर हेरिदिन बाध्यताले आउनुपरेको थियो । त्यही बाध्यता नै आजको मेरो सफलताको महत्त्वपूर्ण कडी हो । त्यही बेला ७ हजार ५ सय रुपियाँ तिरेर एक महिना आरोहणसम्बन्धी तालिम लिएँ । सुरुमा नेपाल माउन्टेनेरिङ एसोसिएसनबाट तालिम लिएको थिएँ, त्यसको अभ्यास लाङटाङ हिमालमा गरेँ । तालिमका लागि दाजुहरूले खुब सघाए, हौसला दिए । लाङटाङ तालिमपछि आयलम्पिक र मेरा पिक चढेँ, जहाँ मलाई हौसला दिन दाजुहरूसमेत कुकका रूपमा सँगै हुनुहुन्थ्यो ।
त्यसपछि दोलखाको रोल्वालिङ पुगेर ‘आइस’ तालिम लिएँ । तिब्बतको छोयु चढ्न रसियन समूहको शेर्पा भएर गएँ । त्यहाँ क्याम्प २ सम्म मात्रै पुगेकी थिएँ । झन्डै एक वर्ष यसरी तालिम लिने र विभिन्न समूहसँगै हिमाल आरोहणको अभ्यास गरेपछि भने लाग्न थाल्यो– अब सगरमाथा चढ्ने बेला आयो ।
म भित्रभित्रै सगरमाथाको चुचुरो चुमेको उमंग पालिरहन्थेँ । तर, त्यति बेलासम्म यो रहर मात्रै थियो । सगरमाथा चढ्न आवश्यक सामग्री र खर्चको जोहो गर्नु मेरा लागि प्रमुख समस्या थिए । निकै महँगो पर्छ, मसँग खर्च थिएन । मनले गरेको निर्णयलाई सार्थकता दिन दाताहरू पनि निस्किने रहेछन् । भनिन्छ नि, भगवान्ले पनि ‘तँ आँट म पुर्याउँछु’ भन्छन् रे । मेरो मनले गरेको सगरमाथा चढ्ने अठोटलाई पूरा गर्न भगवान्ले सहयोगी जुटाइदिए । अन्तत: सन् ०११ को अप्रिल पहिलो साता नै आरोहणमा चाहिने सामग्रीको जोहो भयो । तर, यो आरोहणमा मलाई सरकार या कुनै संघसंस्थाको सहयोग थिएन । बरु अरुण ट्रेक र अमेरिका बस्ने आरसी शेर्पाले सहयोग गरेका थिए । खाना र अक्सिजनका लागि सहयोग पाएपछि आरोहणमा निस्कने आँट आयो । ‘इक्विपमेन्ट र इन्सुरेन्सको खर्चचाहिँ आफँैले जुटाएँ ।
आफ्नै सफलता सम्झिँदा लाग्छ, मनमा अठोट भएपछि सफलता निश्चित हुने रहेछ । सगरमाथा आरोहणका क्रममा शारीरिक समस्या निकै भयो । मानसिक रूपमा त्रासपूर्ण यात्रा पनि रह्यो । यद्यपि, अहिले त्यही साहसले विश्वसामु आफूलाई चिनाउन पाएको छु । एक सातामा दुईपटक सगरमाथा चढ्ने आरोही बन्न पाएँ । एक महिनाअघि गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि यही कीर्तिमानका लागि सूचीबद्ध भएकी छु । तर, यतिले मात्रै आफ्नो उद्देश्य पूर्ण भएको छैन । अझै थुपै्र हिमशृंखला सफल आरोहण गर्ने चाहना यो सफलताले थपेको छ ।