Mar 29, 2013

दाइजोमा ट्रकको ट्युब अनिवार्य : ‘ट्युब दाइजो नदिई त हाम्रो गाउँमा विहेको कल्पना पनि गर्न सकिँदैन

truck-tubeभारतको आन्ध्र प्रदेशस्थित थाडामार्स गाउँ । जहाँ हरेक व्यक्तिको विवाहमा ट्रकका दुईवटा पुराना ट्युब अनिवार्य मानिन्छन् । यहाँका गरिब समुदाय आफ्ना चेलीलाई दाइजोमा दुईटा ट्युब अनिवार्य पठाउँछन् । बिहेपछि माइती आउन र घर फर्कन सजिलो होस् भनेर यस्तो अनौठो उपहार दिने गरिएको हो । कारण, थाडा गाउँ चारैतरबाट नदीले घेरिएको छ, टापुजस्तै । नदी पार गर्न पुरानो ट्युब यहाँका हरेक व्यक्तिको लागि अनिवार्य साधन हो ।
मंगल थाडा गाउँ जाने बाटोमा गाडी लाग्दैन । पैदल हिँडेर जान पनि संभव छैन । त्यसैले यस गाउँमा पुग्ने सजिलो माध्यम हो, गाडीको थोत्रो ट्युब । यस गाउँलाई बजारसँग जोड्नको लागि वाट्टे वागु नामको नदी बाधक रहेको छ । त्यसैले हरेक परिवारका सदस्यको जीविका ट्रकको ट्यबकै भरोसामा चलिरहेको छ, वर्षौंदेखि । अनि यो विवाह परम्पराको एउटा हिस्सा नै बनिसकेको छ ।
मंगल थाडा भारतका आदिवासी समुदायको बस्ती रहेको गाउँ हो । यहाँका बासिन्दाले खाद्यान्न, पढाइ, अस्पताल, बैंकलगायत सबै आवश्यक सामग्री तथा सुविधा नदीपारि रहेको सुरपिल्ली गाउँ पुगेपछि मात्रै उपभोग गर्न पाउँछन् । यस गाउँका हरेक मातापिताले आफ्ना सन्तानलाई दाइजोमा दुईवटा ट्युब यसकारण दिन्छन् कि ज्वाइँसहित छोरी सकुशल माइत आउनजान सकून् । त्यस गाउँमा पुग्दा देखिन्छ, हरेक घरबाहिर सजाएर राखिएका थोत्रा ट्युब । धनीहरूका घरमा कार वा किसानकहाँ गाईभैंसी भएजस्तै ।
‘ट्युब दाइजो नदिई त हाम्रो गाउँमा विहेको कल्पना पनि गर्न सकिँदैन,’ युवा तेजावत नवीनले भने, ‘एउटा ट्युबको कम्तीमा तीनदेखि पाँच सय भारुसम्म पर्छ । जबकि नयाँ ट्युबका लागि नौ सय । मेरो बिहेमा पनि ससुरालीसँग एउटा ट्युब अवश्य दाइजो माग्छु ।’ यस गाउँमा ट्युबको यति महत्त्व छ कि जब नयाँ दुलही भित्रिन्छिन्, उनीभन्दा पनि ट्युबको क्वालिटीबारे चर्चा बढी हुन्छ । गाउँकी महिला तुक्कुले सम्झिइन्, उनको बिहेमा पनि परिवाले ट्युव दाइजो दिएका थिए । उनका अनुसार हरेक वर्ष एउटा ट्युब पुरानो हुन्छ ।
आदिवासी समुदायका बासिन्दा आफ्नो गाउँमा विकासका केही सुविधा नभएकोमा दिक्क छन् । गुग्लत रामुल यही गाउँका बासिन्दा हुन् । आफ्नो गाउँका हरेक परिवार सानो कुरा लिन पनि नदीपारिको गाउँमा निर्भर हुनु परेकोमा यिनलाई निकै दु:ख लागेको छ । कहिलेकहिले त ट्युबको यात्रा जीवनको अन्त्य साबित पनि हुने गरेको छ । दुई वर्षमा चार व्यक्तिले नदी पार गर्ने क्रममा ज्यान गुमाएको स्थानीय भुक्के कोम्टीले बताए । उनका अनुसार ज्यान गुमाउने चारमध्ये तीन जना महिला थिए । कहिलेकहिले पानीको बहाव यति छिटो आउँछ कि ट्युबसमेत जोगिँदैन । अन्तत: उनको जीवनलीला नै समाप्त हुने गरेको छ । उनले आफ्नो गाउँको विकासमा सरकारले बेवास्ता गरेको गुनासोसमेत गरे । गाउँमा कुनै सुविधा नहुँदा गर्भवती महिला, बिरामीलाई अझ समस्या हुने गरेको छ । भुक्केका अनुसार बर्खाको समयमा कुनै बिरामी अस्पताल पुर्‍याउन नसक्दा ज्यानसमेत जाने गरेको छ । (एजेन्सीको सहयोगमा)